कांग्रेस कैलालीमा संस्थापन पक्षकै दुई प्यानल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेस कैलालीमा संस्थापन पक्षकै दुई प्यानल

धनगढी । नेपाली कांग्रेस कैलालीको १४ अधिवेशन आज धनगढीमा सुरु हुँदैछ । साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने छ । नयाँ नेतृत्वका लागि देउवा पक्षका दुईजना समूहसहित प्रतिस्पर्धामा उत्रिएका छन् । शेखर कोइराला  पक्षले पनि सभापतिसहित सबै पदमा उम्मेदवारी दिएको छ ।

सभापति शेरबहादुर देउवाको पक्षका नारायण दत्त भट्ट र प्रकाशबहादुर बम पूरै टीमसहित प्रतिस्पर्धा गर्दै छन् । कोइराला समूहबाट रामबहादुर कलेलले सभापतमिा उम्मेदवारी दिएका छन् । तर संस्थापन पक्षकै भट्ट र बमबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेस केन्द्रीय सदस्यहरूको साथ पाएका भट्ट पहिलो चरणमै निर्वाचन जित्ने रणनीतिमा छन् । दोस्राे चरणमा निर्वाचन हुने स्थिति भएमा कोइराला समूहले प्रकाश बमलाई सहयोग गर्न सक्ने र त्यसले पराजय व्यहोनुपर्ने भय भट्ट समूहलाई रहेको छ ।

भट्टलाई केन्द्रीय सदस्यहरू रणबहादुर रावल, रामजनम चौधरी, नृप वड, सुशीला मिश्र भट्ट र जीवन रानाले खुलेर साथ दिएका छन् । भट्टको टीमबाट यसअघिको अधिवेशनमा सभापतिमा पराजित भएका भीमबहादुर बडुवाल रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन् । 

पहिलो चरणमा कसैको बहुमत नआएर दोस्राे चरणमा आफूले चुनाव जित्ने आकलन बम प्यानलको छ । दोस्राे चरणमा निर्वाचन हुँदा कोइराला प्यानलले आफूलाई सहयोग गर्ने विषयमा सहमति भइसकेकाे प्यानलका एक नेताले बताए । ‘कोइराला पक्षका उम्मेदवारको चुनाव जित्ने आधार छैन,’ ती नेताले भने, ‘त्यसैले उहाँहरू दोस्राे चरणमा प्रकाश बमलाई सहयोग गर्न सहमत भइसकेका छन्, पहिलो चरणमा बहुमत आउन बाट रोक्नु हाम्रा लागि चुनौती हो ।’

पहिलो चरणमै चुनाव जित्ने बहानामा भट्ट समूहले चुनाव सार्न खोजेको उनको आरोप छ । ‘रातारात मतदानस्थल सारिएको छ,’ उनले भने, ‘अहिले पनि अधिवेशन सुचारु गर्न ढिलाइ गरिएको छ, यो सबै चुनाव बिथोल्ने षड्यन्त्र हो ।’ कांग्रेसका सुदूरपश्चिम प्रदेश महामन्त्री तथा निवर्तमान कैलाली जिल्ला सभापति नरनारायण शाह मनुको समर्थन बम प्यानललाई छ । 

बमको प्यानलबाट उपसभापतिमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ का निवर्तमान सभापति खेम चौधरी र तेजशंकर भट्ट प्रतिस्पर्धा गर्न लागेका छन् । बमको टीमबाट सचिवमा नृप सुनार र थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी दिएका छन् ।

तुलनात्मक रूपमा कमजाेर मानिएको काेइराला समूह दोस्राे चरणको निर्वाचन भएमा निर्णायक हुन सक्ने देखिएको छ । तर संस्थापन पक्षबाटै दुई प्यानलबीच प्रत‍िस्पर्धा भएका कारण पहिलो चरणमै चुनाव जित्ने सो समूहको दाबी छ ।

‘संस्थापन पक्षबाटै दुई उम्मेदवार मैदानमा रहेका कारण पहिलो चरणमै चुनाव जित्न सकिने हाम्रो अनुमान छ,’ कोइराला पक्षका प्रचारप्रसार संयोजक गणेश भण्डारीले भने, ‘यदि त्यसो भएन भने दोस्राे चरणमा हामी राम्रो नेतालाई सहयोग गर्नेछौं, सायद प्रकाश बमलाई हाम्रो समर्थन हुन्छ होला ।’ 

कोइराला प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिंह र तीर्थराज जोशीको उम्मेदवारी दिएका छन् । 

कैलालीमा सभापतिमा एक, उपसभापति दुई,  सचिव दुई, सहसचिव दुईना, प्रत्येका गाउँपालिकाबाट एक महिलासहित गरी ६ गाउँपालिकाबाट १२ जना सदस्य,  उपमहानगरपालिकाबाट दुई महिलासहित पाँच सदस्य, खस आर्यबाट चार महिलासहित नाै सदस्य, आदिवासी जनजातिबाट एक सदस्य, मधेसी मुस्लिमबाट एक सदस्य, दलितबाट तीन सदस्य, थारुबाट पाँच महिलासहित १० सदस्य र अल्पसंख्यक अपांगताबाट एक सदस्यका लागि निर्वाचन हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);