कामठाडौँ, १ मंसिर । कैलाली जिल्लामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा सबभन्दा चर्चित उम्मेदवार बनेकी छन्। विपक्षीले ‘टुरिस्ट’ उम्मेदवारको संज्ञा दिएपछि प्रचारकै क्रममा धनगढीमा ३ करोड रुपैयाँको घर किनेका कारण उनी चर्चित बनेकी हुन्।
‘स्थानीयवासी उम्मेदवार’ हुन तत्काल घर किन्न सक्ने हैसियतकी ‘धनाढ्य’ एवं हेभिवेट उम्मेदवार आरजुसित वाम गठबन्धनका तर्फबाट एमालेका सामान्य आर्थिक हैसियतका नारदमुनि रानाले कडा टक्कर दिइरहेका छन्। वाम गठबन्धनले आरजुलाई धनाढ्य र टुरिस्ट उम्मेदवारको संज्ञा दिँदै उनीविरुद्ध जबर्जस्त माहोल बनाउने प्रयत्न गरिरहेको छ। मत किनेर चुनाव जित्न आरजुले यो क्षेत्र रोजेको दाबी गठबन्धनको छ।
कांग्रेसले भने आफ्ना क्षेत्रमा बढी विकास निर्माण कार्यक्रम ल्याउन सक्ने शिक्षित र बौद्धिक महिलालाई उम्मेदवार बनाएको उल्लेख गर्दै आरजुका पक्षमा माहोल बनाउन खोजिरहेको छ। स्थानीयवासीबीच बढी भिज्नु नै रानाको सकारात्मक पक्ष बनेको छ । प्रधानमन्त्री पत्नी र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढी पहुँच भएकाले विकास निर्माण ल्याउन सक्छिन् भन्ने विश्वास आरजुमाथि छ।
यो आरजुको सकारात्मक पक्ष बनिरहेको छ । दुवै संविधानसभामा समानुपातिकतर्फबाट सभासद भएकी आरजु यसपटक प्रतिनिधिसभाको प्रत्यक्ष सिटमा उम्मेदवार भएकी हुन्, त्यो पनि प्रधानमन्त्री देउवाको ‘पकड क्षेत्र’ मा। वाम गठबन्धनले चुनावकै क्रममा ३ करोड रुपैयाँको घर किन्ने पैसा आरजुसित कहाँबाट आयो, त्यो छानबिन हुनुपर्ने आवाज उठाइरहेको छ।
कांग्रेसले भने घर किन्नु नैसर्गिक अधिकार भएको उल्लेख गर्दै यहाँ घर भएपछि अब आरजुलाई कसैले पनि टुरिस्ट उम्मेदवार भन्न नसक्ने दाबी गरेको छ । आरजु प्रचारप्रसार क्रममा आफ्नै नयाँ घरमा समेत बस्ने गरेकी छन्। – कान्तिपुर दैनिकबाट




