वैदेशिक रोजगार विभागमा घूसको खोलो : यसरी समातिए महानिर्देशक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौँ? ३० कार्तिक । अवकाश पाउन एक साता बाँकी रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घूसकाण्डमा पक्राउ परेका छन् । मंगलबार साँझ विभागका दुई कर्मचारी १० लाख रुपैयाँ घूससहित पक्राउ परेको भोलिपल्ट अख्तियार टोलीले सहसचिव पाण्डेलाई पक्राउ गरेको हो।

चाबहिल मित्रपार्कको अम्बे अपार्टमेन्टस्थित निवासबाट उनी पक्राउ परेका हुन् । कालोसूचीमा रहेको एउटा म्यानपावर कम्पनीको कारोबार रोक्का फुकुवा गर्न घूस मागेपछि सञ्चालकले अख्तियारलाई खबर गरेका थिए। अख्तियार टोलीले मंगलबार साँझ विभागका अधिकृत कृतिबल्लभ पौडेल र नासु खडग केसीलाई १० लाख रुपैयाँसहित पक्राउ गरेको थियो । पाण्डे २०७३ कात्तिकमा श्रम विभागबाट वैदेशिक रोजगार विभागमा सरुवा भएका थिए।

उनलाई हटाउन यसअघिका दुई मन्त्रीले प्रयास गरे पनि शक्ति र पहुँचका कारण उनी त्यहीं टिकिरहेका थिए । ‘घूस लिने टोलीमा महानिर्देशक पाण्डे पनि छन् भन्ने हामीलाई सूचना थियो,’ स्रोतले भन्यो, ‘तर अरू दुई कर्मचारीलाई पैसा लिन निर्देशन दिएर उनी बाहिरै बसेका रहेछन् ।’

के हो घटना ?

कामदारलाई वैदेशिक रोजगारमा पठाउँदा ठगीको आरोपमा विभागले एसआरएस ओभरसिजको कारोबारका साथै सञ्चालक शुभद्रादेवी बरालको सम्पत्ति रोक्का गरेको थियो। ओभरसिजले यूएईस्थित हिमाया सेक्युरिटी सर्भिस कम्पनीमा पठाएका ४३ सुरक्षागार्डले ९ महिनासम्म काम नपाएर फर्किनुपरेपछि आफूहरूले तिरेको उच्च लागत, तलब र क्षतिपूर्तिसहित झन्डै तीन करोड रुपैयाँ दाबी गरी विभागमा उजुरी हालेका थिए ।

‘घूसको खोलो’

वैदेशिक रोजगार विभागमा म्यानपावरको अनुगमन, श्रम स्वीकृति, म्यानपावरविरुद्ध हुने उजुरी र म्यानपावर दर्तालगायत प्रक्रियामा ठूला अनियमितता र घूसकाण्डका घटना पटक–पटक दोहोरिने गरेका छन्।

सरकारले नयाँ म्यानपावर दर्ता गर्न रोक लगाए पनि अदालतले आदेश दिएको भन्दै कम्पनी दर्ता गर्ने प्रक्रियामा ठूलो चलखेल हुने गरेको छ। अख्तियारले यसअघि पनि म्यानपावर दर्ता प्रक्रियामा लेनदेन गरिरहेका बेला कर्मचारीलाई पक्राउ गरेको थियो। व्यवसायीका अनुसार एउटा म्यानपावर दर्ता गर्दा कम्तीमा दुई लाख रुपैयाँसम्म लिने गरिन्छ। – कान्तिपुर दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);