बाबुराम-नारायणकाजी : सहयोद्धाको चुनावी संघर्ष, यसो भन्छन् दुबै उम्मेद्वार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बाबुराम-नारायणकाजी : सहयोद्धाको चुनावी संघर्ष, यसो भन्छन् दुबै उम्मेद्वार

काठमाडौं  । तनहुँको तुरतुरेबाट पूर्व मस्र्याङ्दी तरेपछि पालुङटार फाँट आउँछ । यो क्षेत्र प्रवेश गर्नेबित्तिकै जसरी भूगोल परिवर्तन हुन्छ, त्यसरी नै चुनावी दृश्य पनि बदलिन्छ । प्रत्येक घरमा फ्लेक्स प्रिन्टसहितका ब्यानर राखिएका छन् । बिजुलीका पोल र रूखका हांँगामा छपक्कै सूर्य र गोलाकारभित्र हँसिया–हथौडा, आंँखा र रूख चिह्न अंकित झन्डा फहराइरहेका छन् । ओहोरदोहोर गर्ने गाडीबाट चुनावी गीत गुन्जिन्छन् । ठूला रूखका छहारी र बिसौनीमा सर्वसाधारणको झुरुप्प जमघट भेटिन्छ । ती जमघटहरूमा दुई पात्रको चर्चा सुनिन्छ–पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ।

विगतमा एकै पार्टी माओवादीका सहयोद्धा यी दुई नेता गोरखा २ बाट चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसको समर्थन प्राप्त नयाँ शक्तिका भट्टराई र वाम गठबन्धनका उम्मेदवार श्रेष्ठबीचको प्रतिस्पर्धाले जसरी राष्ट्रिय ध्यान केन्द्रित गरेको छ, त्योभन्दा बढी स्थानीय माहोल तताएको देखिन्छ । एकअर्कालाई हराउने उनीहरूको प्रतिस्पर्धाले यहाँको चुनाव अन्यत्रभन्दा केही भड्किलो बन्दै गरेको देखिन्छ। करिब एक दर्जन गाडी, मोटरसाइकलको लस्कर अघिपछि लगाएर भट्टराई र श्रेष्ठ दुवै आफ्नो क्षेत्रमा मत मागिरहेका छन् । उम्मेदवारी दर्ता गरेदेखि नै दुवैले जिल्ला छाडेका छैनन् । एक जना पुगेको स्थानमा लगत्तै अर्का पुग्छन् । सोमबार पालुङटार नजिकको शेरा क्षेत्रमा दिउँसो श्रेष्ठको टोल भेला चल्यो भने राति अबेरसम्म भट्टराई त्यस्तै भेलालाई सम्बोधन गरिरहेका थिए।

खोप्लाङका भट्टराई र जौबारीका श्रेष्ठ दुवै स्थानीय हुन् । त्यही कारण यस क्षेत्रका तटस्थ मतदाता कसलाई छान्ने भन्ने दोधारमा छन् । दुवै उम्मेदवारका सबल र दुर्बल पक्षको लेखाजोखा गर्न मतदाताको ध्यान केन्द्रित छ । ‘दुवै नेता हाम्रो जिल्लालाई चाहिने खालका हुन्, त्यसैले दुवै जना एउटै क्षेत्रबाट नउठुन् भन्ने थियो तर उहाँहरू एकै ठाउँमा लड्न आउनुभयो,’ गाईखुर खत्रीटारको चौतारीमा चुनावी गफ गरिरहेका स्थानीय बलबहादुर कँडेलले भने, ‘नचाहँदा नचाहँदै अब हामीले एक जनालाई हराउनुपर्ने स्थिति आयो।’

दुवै नेताको विगत, राजनीतिक भविष्य र जिल्लासँगको आत्मीयताका आधारमा मतदाता भट्टराई र श्रेष्ठलाई तौलिइरहेका छन् । ‘यो वा ऊ भन्ने छान्न हामीलाई नै गाह्रो परेको छ, त्यसैले भोट हाल्न छिरेपछि त्यहीं निर्णय गर्नुपर्ने अवस्था छ,’ स्थानीय शिवजी बानियाँ भन्छन्।

गोरखामा भट्टराईको यो तेस्रो चुनावी प्रतिस्पर्धा हो । श्रेष्ठ पहिलोपटक चुनाव लड्न आएका हुन् । संविधानसभाका दुई चुनावमा भट्टराईले अत्यधिक मत ल्याएर जितेका थिए । श्रेष्ठ भने संविधानसभामा मकवानपुरबाट चुनाव लडेका थिए । दुई सहयोद्धा मात्र होइन, वामपन्थी र लोकतान्त्रिक गठबन्धनले नै यो क्षेत्रको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

वामपन्थी गठबन्धनले देशव्यापी चुनावी सभाको सुरुवात नै गोरखाबाट गर्दैछ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल श्रेष्ठको पक्षमा माहोल सिर्जना गर्न बुधबार गोरखा आउँदैछन् । वामपन्थी गठबन्धनको सभालगत्तै मंसिर २ गते भट्टराईको पक्षमा माहोल सिर्जना गर्न यहीं लोकतान्त्रिक गठबन्धनको सभा राखिएको छ । सभालाई सम्बोधन गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत आउँदैछन्।

जित वा हारले राजनीतिक भविष्य निर्धारण हुने भएकाले दुवै नेताका अभिव्यक्तिमा एकअर्काप्रति निकै छेडछाड भेटिन्छ । एमाले र माओवादी केन्द्रको वामपन्थी गठबन्धनका उम्मेदवार भएकाले श्रेष्ठलाई संगठनको मुख्य बलमा जित हासिल गर्छु भन्ने विश्वास छ । त्यसैले उनी भट्टराईलाई आफ्नो प्रतिस्पर्धी नै ठान्दैनन् । ‘लोकतन्त्रमा उम्मेदवार हुन पाउने हक छ, त्यसैले उहाँ ९भट्टराई० उम्मेदवार हुन आउनुभएको छ,’ श्रेष्ठले भने ।

‘मलाई उहाँ प्रतिस्पर्धी भएर कुनै पनि चुनौती छैन, निष्ठा र विचारमा उहाँसँग तुलना नै हुँदैन,’ उनले भने । भट्टराईलाई आफ्नो संगठन बलियो नभए पनि विगतमा जिल्लामा गरेको विकास र कांग्रेसको समर्थनमा श्रेष्ठलाई सजिलै हराउन सकिन्छ भन्ने लागेको छ । त्यसैले उनी पनि श्रेष्ठलाई आफ्नो प्रतिस्पर्धी नै ठान्दैनन् । गोरखामा जन्मे पनि जिल्लासँग श्रेष्ठले कुनै सम्बन्ध नै नराखेको भट्टराईको भनाइ छ। ‘गोरखाका जनताले मलाई यसअघि ऐतिहासिक मत दिएर विजयी गराएका छन् । गोरखालाई मैले कार्यक्षेत्र बनाउँदै आएको छु,’ भट्टराईले भने, ‘तर उहाँले कहिल्यै गोरखालाई कार्यक्षेत्र बनाउनुभएन, उहाँसँग मेरो प्रतिस्पर्धा नै छैन ।’

श्रेष्ठ र भट्टराईको मत माग्ने तरिका पनि फरक छ । श्रेष्ठ बढी राजनीतिक कुरा गर्छन् भने भट्टराई विकासे । शान्ति प्रक्रिया टुंगिएर संविधानसमेत जारी भएकाले अब संविधानको दिगो कार्यान्वयनका लागि स्थिर सरकार आवश्यक रहेकोमा श्रेष्ठको जोड छ । स्थिर सरकारले मात्र विकास र समृद्धि ल्याउन सक्ने भएकाले आफूलाई मत दिन श्रेष्ठ आग्रह गर्छन्।

भट्टराई भने सरकार बनाउनेलगायत विषयमा भन्दा विगतमा आफूले गरेका विकास र भावी योजनाको फेहरिस्त पेस गरिरहेका छन्। श्रेष्ठको चुनाव प्रचारका लागि बनाइएका गीतमा पनि राजनीतिमा खेलेको भूमिकाका सन्दर्भ उल्लेख छन् । भट्टराईको प्रचार गीतमा भने गोरखामा डाँडापाखामा मोटर कुदेका प्रसंग जोडिएका छन्।

‘अवसरवादी’ कि ‘झुसिलकिरा’ ?

श्रेष्ठ अहिले भट्टराईको कुनै राजनीतिक दर्शन, सिद्धान्त र निष्ठा नभएको प्रचार गरिरहेका छन् । उनी भट्टराईलाई अवसरवादी र व्यक्तिवादीका रूपमा चित्रण गर्छन् । ‘आज एउटा, भोलि अर्को कुरा गर्नेबाट लोकतन्त्र सुदृढ हुँदैन,’ श्रेष्ठको टिप्पणी छ, ‘मौकावाद, अवसरवाद र व्यक्तिवादले अवसर पायो भने लोकतन्त्र नै समस्यामा पर्छ ।’ माओवादी छाडेर नयाँ शक्ति पार्टी खोलेको, उक्त पार्टीलाई संघीय समाजवादी फोरमसँग मिसाउन प्रयास गरेको, स्थानीय चुनावमा फोरमकै चिह्न प्रयोग गरेको, पछिल्लो समय वाम गठबन्धनमा मिलेको र एक सातामै त्यसलाई छाडेर कांग्रेससँग सहकार्य गर्न पुगेको लगायतका घटनालाई भट्टराईको अस्थिरताको उदाहरणका रूपमा श्रेष्ठले चर्चा गर्दैछन्।

भट्टराईका नजरमा माओवादीले लिएको बाटोले कुनै पनि दिशा पक्रेको छैन । त्यसैले उक्त पार्टीबाट मुलुकमा समृद्धि सम्भव नरहेको उनको तर्क छ । उनले चुनावी सभामा माओवादीलाई ‘झुसिलकिरा’ को संज्ञा दिँदै हिँडेका छन् । ‘मुलुकलाई पुतलीजस्तो बनाउनुपर्नेछ तर माओवादी अझै झुसिलकिराजस्तो छ,’ भट्टराईले भने, ‘जडतामै अल्झिएको छ, त्यसैले उसबाट समृद्धि सम्भव छैन। – कान्तिपुर दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);