जनकपुर, २२ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा डर, भय र त्रास मुक्त रुपमा मतदान गर्ने वातावरण निर्माण गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री देउवाले लोकतन्त्रमा जनताले इच्छाइएका व्यक्ति र पार्टीलाई निर्वाध रुपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिए ।
बुधबार जनकपुरमा आयोजित २ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले डर, त्रासबाट मुक्त भएर मतदानमा भाग लिने वातावरण बनाउने दायित्व सुरक्षा निकायको भएकोतर्फ बताए ।
प्रधानमन्त्री देउवाले जनता सार्वभौम रहेको र उनीहरुलाई कुनै पनि प्रकारको दवाव र प्रभावबाट मुक्त भएर मतदानमा भाग लिने वातावरण बनाउनु राज्यको दायित्व भएको बताए ।
कार्यक्रममा प्रदेश नम्बर २ अन्तरगतका ८ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।