गठबन्धनले बनाएको समन्वय समितिप्रति कांग्रेसमै असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गठबन्धनले बनाएको समन्वय समितिप्रति कांग्रेसमै असन्तुष्टि

काठमाडौं । सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक  समन्वय समितिलाई लिएर सरकार नेतृत्वकर्ता दल कांग्रेसमा असन्तुष्टि बढेको छ । राजनीतिक सकसका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रण गठन गर्ने गरेका दलहरूले यस पटक भने गठबन्धनका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा राजनीतिक समन्वय समिति गठन गरेका हुन् ।

तर, सोही समितिलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढेको सतहमै देखिएको छ । गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक समन्वय समिति सरकारभन्दा माथि रहन खोजेको आरोप लगाए ।

संविधानअनुसार समितिको ओैचित्य  नरहेको बताएका उनले सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन आवश्यक नरहेको पनि जिकीर गरे । संविधान र प्रजातान्त्रिक विधिविपरीत संयन्त्र बनाउन नहुनेमा जोड दिएका नेता सिंहले भने, ‘अहिलेको सरकार गठबन्धनको हो । राज्यसत्ता सरकारले चलाउने हो । तर, समन्वय समिति बनाइएको छ। अहिलेको अवस्थामा यो आवश्यक छैन ।’ 

सरकारलाई नियन्त्रणमा राख्ने गरी संयन्त्र बनाउन नहुने बताएका उनले भने, ‘ उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ । प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन ।’ 

तर, उनको आरोपलाई खण्डन हुने गरी यसअघि नै मंगलबार राजनीतिक समन्वय समितिका संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिव्यक्ति दिएका थिए । उनले समितिले सरकारको काममा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने र नगरेको बताएका थिए । 

वर्तमान राजनीतिक व्यवस्थालाई र लोकतन्त्रलाई सुनिश्चित गर्न समन्वयका लागि काम गर्न समिति बनाइएको र सोहीअनुसार काम गरेको नेता पौडेलको दाबी छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);