नाछिरिङ भाषाको कक्षा ३ को पाठ्यपुस्तक विमोचन | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

नाछिरिङ भाषाको कक्षा ३ को पाठ्यपुस्तक विमोचन

खोटाङ । नाछिरिङ राई भाषाको कक्षा ३ को पाठ्यपुस्तक विमोचन गरिएको छ । नाछिरिङ राईको बाहुल्यता रहेको पूर्वी नेपालका खोटाङ, सोलुखुम्बु, उदयपुरलगायतका विद्यालयमा पठन–पाठनका लागि किरात रदु नाछिरिङ साखाम केन्द्र, केन्द्रीय समिति काठमाडौंको पहलमा तयार पारिएको पाठ्यपुस्तक दीपावली र छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रमका बीच विमोचन गरिएको हो ।

पुस्तक आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती, जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार राई र डा. शंकरमान नाछिरिङले विमोचन गरेका हुन् ।नाछिरिङ राईको बाहुल्यता रहेको विद्यालयमा नाछिरिङ भाषामा कक्षा २ पछि कक्षा ३ को पठन–पाठनका लागि पाठ्यपुस्तक तयार पारिएको थियो । २०७६ सालदेखि सोलुखुम्बुको सोताङ गाउँपालिकाका पाँच विद्यालय र खोटाङको ऐसेलुखर्क गाउँपालिकाको पाँच विद्यालयमा नाछिरिङ भाषाको पठन–पाठन सुरु गरिएको किरात रदु नाछिरिङ साखाम केन्द्रका अध्यक्ष सकलबहादुर नाछिरिङले बताए । 

स्थानीय तहको कार्यान्वयनपछि विभिन्न भाषाभाषीमा पठन–पाठन गर्ने बाटो खुलेसँगै नाछिरिङ राईको बाहुल्यता रहेको ठाउँका विद्यालयमा नाछिरिङ भाषामै कक्षा १ देखि ३ सम्मको पठन–पाठनका लागि साखामको पहलमा गठित पुस्तक लेखन समितिले यसअघि नै पाठ्यक्रम तयार पारिसकेको थियो । १४ मंसिर २०७५ मा ३५ भन्दा बढी नाछिरिङ पुर्खाहरूको उपस्थितिमा धरानमा सम्पन्न पहिलो कार्यशाला गोष्ठीले ‘हामी सबै एउटै नाछिरिङ हौँ, हाम्रो भाषा एउटै नाछिरिङ हो’ भन्ने निष्कर्षसहित नाछिरिङ भाषाको पाठ्यक्रम निर्माण सुरु गरिएको थियो । 

२०६८ सालको जनगणना अनुसार पूर्वी नेपालमा नाछिरिङ भाषा बोल्न जान्ने जनसंख्या करिब १४ हजार रहेको छ । लोपोन्मुख बनेको नाछिरिङ भाषा, संस्कृति, इतिहासलगायतको संरक्षण एवं संवर्द्धनको लक्ष्यका साथ आफ्नै भाषामा पाठ्यपुस्तक तयार पारेर पठन–पाठन सुरु गरिएको साखामले जनाएको छ । 

सोलुखुम्बुको सोताङ, महाकुलुङ गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राईको सघन बस्ती रहेको छ । यस बाहेक संखुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेह्रथुम, इलाम, झापा, उदयपुर, काठमाडौं, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानडा लगायतका देशमा समेत नाछिरिङ राईको बसोबास रहेको छ । 

रामकुमार नाछिरिङ संयोजक, विजय नाछिरिङ र लाकु संगम नाछिरिङ सदस्य रहेको पुस्तक लेखन समितिले नाछिरिङ भाषाको नाछिरिङ भाषाको कक्षा ३ को पाठ्यपुस्तक तयार पारेको हो । गत वर्ष नाछिरिङ भाषाको कक्षा २ को पाठ्यपुस्तक र सोभन्दा अघिल्लो वर्ष कक्षा १ को पाठ्यपुस्तक तयार पारेको पुस्तक लेखन समितिले काठमाडौंमा गत २१ साउनेदेखि ३० साउनसम्म आयोजना गरिएको सम्पादन कार्यशाला गोष्ठीमार्फत कक्षा ३ को पाठ्यपुस्तकको पाण्डुलिपि तयार पारेको थियो । 

भाषाविद् डा. तारामणि राईको प्राज्ञिक सहयोग एवं सोलुखुम्बुको सोताङ, खोटाङ र मोरङका नाछिरिङभाषी पुर्खा जलबहादुर नाछिरिङ, हर्कबहादुर नाछिरिङ र शान्ता नाछिरिङको सहभागितामा पुस्तक लेखन समितिले पुस्तक प्रकाशनका लागि किरात रदु नाछिरिङ साखाम केन्द्रलाई ३१ साउनमा पाण्डुलिपि हस्तान्तरण गरेको थियो । 

नाछिरिङ भाषाको सुनाइ, बोलाइ, पढाइ, लेखाइ जस्ता भाषिक विकासका साथै सामाजिक तथा सांस्कृतिक संरक्षण तथा संवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्यकासाथ पाठ्यपुस्तक तयार गरिएको पाठ्यपुस्तक लेखन समितिका संयोजक रामकुमार नाछिरिङले बताए । ‘पाठ्यपुस्तकमा विशेषगरी स्थानीय परिवेश अनुसार भाषाको सुनाई, बोलाई र लेखाई सम्बन्धी सीपलाई केन्द्रित गरिएको छ,’ संयोजक नाछिरिङले भने, ‘व्याकरण र शब्द भण्डार सम्बन्धी विषयवस्तु पनि पुस्तकमा समेटेका छौं ।’ पुस्तक विमोचन कार्यक्रममा किरात रदु नाछिरिङ साखाम केन्द्रको रिदुखिम भवनको थ्रिडी नक्सा सार्वजनिक गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);