पहिरोले एक दर्जनभन्दा बढी घर भत्किए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

पहिरोले एक दर्जनभन्दा बढी घर भत्किए

बैतडी । वर्षाका कारण बैतडीका विभिन्न ठाउँमा स्थानीयका घर भत्किएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका- ४ स्थित राजेन्द्र खत्रीको दुई तले घर र वडा- ६ स्थित हरिसिंह धनाडीको दुई तले निर्माणाधीन पक्की घर भत्किएका छन् ।

घर भत्किएपछि अहिले उनीहरूका परिवारका सदस्यहरूलाई आवासका लागि समस्या भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए ।

यसैगरी जिल्लाको पुर्चौडी नगरपालिका- ६ त्रिकालीमा एउटा घर पहिरोमा पुरिएको छ । पहिरोमा परी स्थानीय वसन्ती साँउदको घर पुरिएको नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर- १ समन्वय समितिका संयोजक कर्णबहादुर कुँवरले बताए ।

पहिरोमा घर पुरिँदा खाद्यान्न, लत्ताकपडा र सरसमानसहित पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।  

यसैगरी दशरथचन्द नगरपालिका- ४ जर्गमा रहेको तारादत्त पाण्डेयको घर आंशिक पुरिएको छ भने सोही गाउँका अकबर मालको गोठ पहिरोमा पुरिएको छ । 

जिल्लाको मेलौली नगरपालिका- ३ को पुजारा गाउँका गौरसिंह भाटको पसलमाथिबाट आएको पहिरोले पसल पुरिँदा २० हजार रुपैयाँ बराबरका मालसामान नष्ट भएको स्थानीय नरीराम पार्कीले बताए । 

सोही ठाउँका दानीराम पार्कीको घरमाथिबाट पहिरो खस्दा दानीरामकी श्रीमती मानमती घाइते भएकी छन् । 

यसअघि शिवनाथ- ६ मा मंगलबार एउटा घर भत्किँदा तीन जनाको ज्यान गएको छ भने सुर्नया- ५ मा घर भत्किँदा एक जनाको ज्यान गएको छ । जिल्लाको सिगास- ५ ढुंगाडमा पहिरोले स्थानीयका पाँचवटा घर पुरिएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);