अपडेट : रसुवामा पहिरो जाँदा मृत्यु हुनेको संख्या ९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अपडेट : रसुवामा पहिरो जाँदा मृत्यु हुनेको संख्या ९ पुग्यो

pahiro rasuwa

काठमाडौं, ११ साउन । गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत स्याफ्रु–रसुवागढी सडकखण्डको टिमुरेमा बुधबार राती खसेको पहिरोमा परी नौ जनाको मृत्यु भएको छ ।

१२ घाइते भएका छन् । केही पुरिएको आशंकामा खोजी भइरहेको छ । टिमुरेको टासी देले होटेल नै पहिरोमा पुरिएको छ । त्यहाँ बसेका व्यक्तिको यकिन नभएकाले बेपत्ताको संख्या खुल्न नसकेको रसुवाका डिएसपी सन्तोष तामाङले बताए ।

मत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–१ का मिङ्मर गोम्बो तामाङ, वडा नम्बर २ का दोर्जे वाङ्जु घले, उनकी पत्नी कार्साङ सिमो घले, नुवाकोटकी शर्मिला कमिनी, नुवाकोटकै ककनी गाउँपालिकाका रमेश तामाङ छन् । त्यस्तै, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–५ का श्याम श्रेष्ठ, मंगल तामाङ, विक्रम श्रेष्ठ र भोटेकोसी–४ का सुस खड्काको पनि मृत्यु भएको डिएसपी तामाङले बताए ।

बेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दासहितको टोली सक्रिय छ । रसुवागढी जलविद्युत् आयोजना र सडक डिभिजन कार्यालयको डोजर र स्काभेटर प्रयोग गरेर हराएकाको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

घाइते १२ मध्ये सात उपचारपछि घर फर्किएका छन् भने गम्भीर चोट लागेका पाँचलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । टिमुरे स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएपछि उनीहरूको प्रारम्भिक उपचार रसुवागढी जलविद्युत् आयोजनाको स्वास्थ्य क्याम्पमा भएको थियो ।

ज्यान गुमाउनेहरू व्यापारी, कामदार र सवारीचालक
पहिरोमा ज्यान गुमाउनेहरू टिमुरेका व्यापारी, कामदार र कन्टेनर तथा सुमोका चालक छन् । सडकछेउमा घरटहरा बनाएर व्यवसाय गर्नेहरू पहिरोमा परे । यसैगरी, पहिरो खस्ने समयमा सडकमा रहेका सवारीसाधन सहित चालक पनि पुरिएका हुन् ।

प्रहरी चेकपोस्टसहित चार घर र पाँच सवारीसाधन पुरिए
अविरल वर्षासँगै राति पौने १ बजे पहिरो खसेको थियो । पहिरोले टिमुरेको प्रहरी चेकपोस्ट र टासी देले होटेलसहित चार घर पुरेको छ । यसैगरी, नेपालबाट चीनको केरुङतर्फ सामान लिन जान लागेका तीन कन्टेनर, एक–एकवटा एल्पी ट्रक र टिपर पहिरोले पुरेको प्रजिअ पौडेलले बताए । रसुवा प्रहरीका अनुसार ना.५ख ७००७, ना.२ख ३६६३, ना.३ख ७७२० नम्बरको कन्टेनर, ना.२ख ८६८९ नम्बरको एल्पी ट्रक र एउटा टिपर पुरिएको छ ।

रसुवागढी नाका बन्द, विद्युत् अवरुद्ध
पहिरोपछि चीनसँग सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी अवरुद्ध भएको छ । सडक र नाका शुक्रबार दिउँसोसम्म सञ्चालनमा ल्याउने गरी पहिरो पन्छाउने काम भइरहेको प्रजिअ पौडेलले जानकारी दिए । यसैगरी, विद्युत्का पोल पनि ढलेकाले टिमुरे क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । भन्सारको कामसमेत ठप्प भएको छ ।

चट्याङ परेजस्तो अवाजसहित पहिरो खस्यो
पोक्की तामाङ
घाइते
राति ११ बजेतिर खाना आएर सुतेँ । केही समयमै चट्याङ परेजस्तो आवाज आयो । जुरुक्क उठेर यताउति हेरेँ । बाहिर हेर्दा माथिबाट मडारिँदै पहिरो खसिरहेको देखेँ । चारपटकसम्म छिमेकीलाई बोलाएँ । तर, कोही बोलेनन् । सुतिरहेका दुई छोराछोरीलाई उठाएर भाग्न खोजेँ । तर, घर तल लडेँ । एउटा ठूलो ढुंगा टाउकोमा आएर बज्रियो । केहीबेरपछि होस खुल्दा थाहा पाएँ, ढुंगाले लागेपछि बेहोस भएछु । छेवैमा दुई छोरीछोरी बाबा–आमा भन्दै चिच्याइरहेका थिए ।

उनीहरूलाई लिँदै अगाडि बढ्दा छिमेकी घरका श्रीमान्–श्रीमती पहिरोमा पुरिएको देखेँ । बेहोस अवस्थामा रहनुभएका श्रीमान् (देवबहादुर तामाङ) र छोराछोरीलाई पहिरो गएकोभन्दा अर्को ठाउँतिर सिस्नुको झ्याङमा लडाइदिएँ । यही कारण हामी सबै बाच्यौँ । श्रीमान् देवबहादुरको टाउको, कम्मर र खुट्टालगायत अंगमा गम्भीर चोट लागेको छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);