चार वर्षमा मध्यपुर थिमिमा सम्पदा संरक्षणमा उल्लेख्य प्रगति | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

चार वर्षमा मध्यपुर थिमिमा सम्पदा संरक्षणमा उल्लेख्य प्रगति

भक्तपुर । सुलचना कपाली करिब एक दशक अगाडि विवाह गरी मध्यपुर थिमिमा गइन् । उनलाई दापत्य जीवनपछिको घरपरिवार नौलो लाग्यो । ‘विवाह भएपछि सधैँ घरको काममै व्यस्त हुने । एकछिन् फुर्सद हुन्थ्यो । कहिले त दिक्क पनि लाग्थ्यो,’ उनी भन्छिन्, ‘श्रीमानलाई नजिकै कतै घुम्न जाउँभन्दा नाक खुम्चाउँदै कता जाने ? भन्नुहुन्थ्यो । अनि बाध्य भएर घरमै बस्थ्यौँ ।’ 

‘त्यो बेला थिमिमा जताततै फोहोर अनि दुर्गन्ध मात्रै हुन्थ्यो । काम विशेषले बाहिर निस्कँदा पनि नाक खोल्ने सक्ने अवस्थै थिएन । अहिले त त्यस्तो छैन्न,’ उनी स्मरण गर्दै बताउँछिन् । 

‘श्रीमानलाई नजिकै घुम्न जाउँभन्दा भक्तपुर दरबार स्क्वायर या त भक्तपुरको पोखरीतिर लैजानु हुन्थ्यो,’ उनी थप्छिन्, ‘अहिले त घरको कामले दिक्क भए घर नजिकैको निगु पुखु पुग्छु । पोखरीको सफा पानी हेरेर आनन्दको सास लिन्छु ।’ 

रिकिसी कम्पोष्ट मल प्रालिका डाइरेक्टर उषा गिरी पनि थिमिको फोहोरको व्यवस्थापनबारे अध्ययन गर्न आउँदा आफ्नो गाडी फोहोरको हिलोमा गाडिएको स्मरण गर्दै भन्छिन्, ‘रिकिसीको लागि ठाउँ हेर्न आएको थिएँ । तर, गाडि फोहोरमा फस्यो । स्थानीयको सहयोगमा फसेको गाडिलाई बल्लतल्ल निकालेर लगेँ ।’ 

‘त्यो बेला त मनमनै यस्तो ठाउँमा कसरी काम गर्न सकिन्छ जस्तो लागेको थियो,’ उनी स्मरण गर्दै भन्छिन्, ‘अहिले त त्यस्तो समस्या छैन । कहिलेकहीँ कामको तनाव भएमा कार्यकक्षबाटै विष्णुकुण्ड पोखरीलाई हेरेर आनन्द लिन्छु ।’ 

उनी भन्छिन्, ‘मैले पहिले देखेको थिमि र अहिले देख्दै आएको थिमिमा धेरै फरक पाउँछु । त्यो बेला त न कुनै पार्क थियो न त पोखरी नै । पोखरीमा फोहोर अनि झारपातले भरिएको हुन्थ्यो । खुल्ला चौर फोहोरले भरिएको हुन्थ्यो ।’ 

चार वर्षयता मध्यपुर थिमि नगरपालिकाको सम्पदा क्षेत्रमा कायापलट आएको स्थानीयको अनुभव छ । स्थानीयका अनुसार हिजाेआज थिमिलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । दैनिक घुम्न आउने पर्यटकको संख्या पनि बढ्दै गएको छ । 

फोहोर थुप्रेको क्षेत्रमा सम्पदाको रूपमा देख्दा हिजाेआज आनन्द मात्र नभई गन्तव्य स्थल पनि बनेको कपाली थप्छिन्, ‘हिजाेआज हाम्रो परिवार घुम्न बाहिर नगरमा पुग्नु पर्दैन । घर वरीपरीको सम्पदा वा पोखरीमा मात्र घुम्न जाँदा पनि हुन्छ । छोटो समयमै मनमा थुप्रेका दु:खलाई भुलाउन सकेका छौँ ।’ 

पालिकाले चार वर्षयता १५ वटा पोखरीको संरक्षण गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । ‘यहाँ २५ वटा पोखरी छन् । त्यसमध्ये १५ वटाको संरक्षण हुँदै आएको छ । त्यसमध्ये नाैवटामा पानी जमाउन सफल भएका छौँ । तीनवटा विवादको कारण काम गर्न सकेका छैनौँ,’ उनले भने, ‘पोखरी संरक्षणको लागि हामीले उपभोक्ता समितिको गठन गरी संरक्षण गर्दै आएका छौँ ।’ 

उनले केही पोखरीहरु विवादको कारणले संरक्षण हुन नसकेकोमा दुखेसो पोखे । संरक्षण गर्न बाँकी रहेको पोखरीलाई पनि संरक्षण गर्दै लैजाने योजना रहेको उनले बताए । 

‘हामीले बोडेस्थित कमलपोखरीलाई भूमाफियाहरुसँग मुद्दा जितेर संरक्षण गर्दै आएका छौँ । पोखरीलाई स्थानीयको आम्दानीको स्रोतको रूपमा विकास गर्नको लागि डुंगा सञ्चालनमा ल्याएका छौँ,’ उनले भने, ‘उपभोक्ता समितिले पोखरीमा माछा पालेको छ । त्यसबाट आएको आम्दानी पोखरीको संरक्षणसँगै स्थानीयलाई आर्थिक सहयोग गर्ने विश्वास पालिकाको छ ।’ 

‘हामीले थिमिलाई सम्पदा गन्तव्यको रूपमा विकास गर्नका लागि पार्क निर्माण, मन्दिर निर्माण, पुराना नगरमा ढुंगा विछ्याउने कार्य, पोखरी संरक्षण गर्दै आएका छौँ,’ उनले थपे, ‘हालसम्म २५ मध्ये १५ वटा पोखरीको संरक्षण गरेका छौँ । जसमध्ये ९ वटामा पानी भरिसकेका छौँ । १० वटा पार्क संरक्षण हुँदै छ । जसमध्ये ६ वटा पार्क सम्पन्नको चरणमा छन् । २२ वटा इनारको संरक्षण भइरहेको छ । ढुंगेधारा, पाटी संरक्षण कार्य भइरहेको छ ।’
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);