भीषण वर्षा भए पनि यसपालि डुबान नहुँदा थिमिवासी दंग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भीषण वर्षा भए पनि यसपालि डुबान नहुँदा थिमिवासी दंग

भक्तपुर । मेघगर्जनसहित पानी पर्न थालेपछि मध्युपर थिमि अधिकांश क्षेत्र जलमग्न हुन्थे । पानी कुलो या सडकमा मात्रै नभई स्थानीयको घरघरमै छिथ्र्यो । घरभित्रको पानी निकाल्न मेसिनको प्रयोग गरी बाहिर ल्याउनु पर्दथ्र्यो । पानी पर्न थालेसँगै स्थानीयको मनमा पनि कालो बादलले डगमगाउन थाल्थे ।

तर यस वर्ष स्थानीयले विगतको जस्तो समस्या भोग्नु परेन । सोमबार उपत्यकासहित देशको मुख्य बजारमा डुबानमा परे पनि मध्यपुर थिमि भने डुबानमा परेन । न त पानी नै जम्यो । वर्षापछि जमेको पानी पनि केही समयपछि नै सुक्यो ।

गत वर्ष पानीको उचित निकासा र व्यवस्था नभएकाले पानी स्थानीयको घरघरमा छिरेको थियो । तर यस वर्ष पानीको उचित निकासा भएकाले थिमि डुबान नपरेको स्थानीय बताउँछन् ।

स्थानीय श्याम श्रेष्ठका अनुसार विगतमा भीषण वर्षा भएपछि बाटो र सँगैका घर जलमग्न हुन्थे । ‘गत वर्ष त सुरक्षाकर्मीले डुंगा ल्याएर उद्धार नै गर्नुपरेको थियो । कति सामान बगाएर लैजान्थ्यो,’ उनले भने, ‘तर यो वर्ष डुबानमा परेन । हामी सुरक्षित भई बस्न पायौँ ।’

भक्तपुरको सल्लाघारी चोक हुँदै सृजनानगर, राधेराधे र नयाँ थिमिका अधिकांश क्षेत्र पानी पर्न थालेसँगै डुबानमा पर्ने गर्दथ्ये । तर यस वर्ष खोलामा पर्खाल लगाएकाले डुबानमा नपरेको स्थानीय बताउँछन् ।

निकोसेराका सहदेव कस्तीले विगतको समस्या यस वर्ष भोग्नु नपरेको बताए । निकोसेराको बाटोछेउमै रहेको उनका घरको पहिलो तल्ला विगतको वर्ष जलमग्न भएको थियो । तर यस वर्ष पानी नपसेको उनले बताए । पानी पसेपछि घर सफा गर्नै समस्या हुन्थ्यो । पानीसँगै मिसेर आएको लेदो सफा गर्ने समय लाग्थ्यो । तर यस वर्ष यति धेरै पानी परे पनि डुबानमा नपरेको उनले बताए ।

मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार थिमिमा अरनिको राजमार्ग रहेकाले स्थानीयले डुबानमा समस्या भोग्दै आएको स्वीकार गरे । उनले मुख्य सडक निर्माण गर्दा ढल र कुलाको पनि व्यवस्था हुनुपर्ने भए पनि ढलको राम्रो व्यवस्था नभएकाले थिमिका स्थानीयले डुबानको समस्या भोग्न बाध्य भएको बताए । ‘राजमार्गमा धेरै क्षमता भएको कुलो बनाउनुपर्ने हो । तर कम क्षमताको बनाइएको छ । जसले पानीको बहाव थेग्नै सक्दैन,’ उनले भने ।

‘यस वर्ष विगतको समस्या भोग्नुपरेन । केही क्षेत्र डुबानमा त परे । तर विगतको जस्तो ठूलो समस्या भएन,’ उनले भने, ‘थिमि वरिपरिको खोलामा यस वर्ष २० फिट अग्लो पर्खाल लगाएको छौँ । यसले खोलाको बाढी स्थानीयको घरमा पस्न पाएन ।’ डुबानको समस्या अन्त्य गर्न हनुमन्ते खोलामा करिडोर निर्माणका लागि पहल गर्दै आए पनि निर्माण हुन नसकेको उनले बताए ।

भक्तपुरमामा चाँगुनारायण, सूर्यविनायक, भक्तपुर र मध्यपुर थिमि गरी चारवटा स्थानीय तह छन् । भौगोलिक रुपमा पहाड र मैदान क्षेत्र रहेको भक्तपुरमा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पहिरोको जोखिम छ भने मध्यपुर थिमि र भक्तपुर नगरपालिकामा बाढी र डुबानको जोखिम छ ।

सोमबार चाँगुनारायण नगरपालिकाको अधिकांश क्षेत्रमा पहिरो गयो । पालिकाको अधिकांश क्षेत्रमा भिरालो जमिन भएकाले पहिरोको जोखिम भएको स्थानीयले बताएको छन् । यस्तै, सूर्यविनायक नगरपालिकाको वडा नम्बर १ सिरुटारमा डुबानमा जोखिम छ भने अरु केही वडामा पहिरोको जोखिम रहेको वडाध्यक्ष सानुकाजी कायस्थले बताए ।

वर्षाको कारण भक्तपुर र मध्यपुर थिमि नगरपालिकाका खोला वरपर क्षेत्रका घर, टहरा, विद्यालयहरु डुबानमा पर्दै आएका छन् । तर गत वर्ष केही खोलामा पर्खाल लगाएकाले विगतको वर्षको तुलनामा यस वर्ष कम क्षेत्र डुबान भएको नगर प्रमुख श्रेष्ठ बताउँछन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);