एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु भिन्नै विचार, प्रवृति र एजेण्डाबाट आएको बताएका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (वैरागी) को २२औं स्मृतिमा आयोजित कार्यक्रममा उनले आफूहरु भिन्नै शैली, संस्कार र संस्कृतिबाट आएको र त्यसलाई अझ सुदृढ, विकसित र परिमार्जित गरेर जानुपर्ने बताएका हुन् ।

उनले यो पटक आफूहरु माओवादी केन्द्रलाई रुपान्तरण र क्रान्तिकारी दिशामा अगाडि बढाई छाड्ने भनेर सङ्कल्पको साथ केन्द्रीय समिति र स्थायी समितिका बैठकहरु अगाडि बढाइएको बताए । तल्लोस्तरसम्म योजनाबद्ध ढंगले पार्टीलाई पुनर्निर्माण गरी व्यवस्थित गर्न लागिपरेको उनको भनाइ छ ।

एमालेले डलर भित्र्याएर पार्टीभित्र गुट उपगुट बलियो बनाउन खोजेको भन्दै प्रचण्डले सूर्य चिन्ह र मदन भण्डारीको नाम प्रयोग गरेर एमालेका नेतृत्वले पदका लागि मात्र राजनीति गरेको उल्लेख गरे । एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने उनको भनाइ थियो । ‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुन्छ,’ उनले भने ।

अहिले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताए । उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने पनि स्पष्ट पारे ।

आफूहरु गठबन्धनलाई बचाएर सकारात्मक रुपमा अघि बढ्न तयार रहेको तर अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने र प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको प्रचण्डको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);