विवेकशील साझा पार्टीमा देखिएको वैचारिक ध्रुविकरण पश्चात नेता केशव दाहालले नेतृत्व तहलाई लेखे नौ बुँदे पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विवेकशील साझा पार्टीमा देखिएको वैचारिक ध्रुविकरण पश्चात नेता केशव दाहालले नेतृत्व तहलाई लेखे नौ बुँदे पत्र

काठमाडौं । विवेकशील साझा पार्टीमा देखिएको वैचारिक ध्रुविकरण पश्चात आएको अन्र्तद्धन्दलाई समाधानका लागि विवेकशील साझा पार्टी एकीकरणको वार्ता कमिटीका प्रमुख नेता, विवेकशील साझा पार्टीका सचिवालय सदस्य केशव दाहालले केन्द्रीय कमिटीमा नौं बुँदे पत्र पठाएका छन् ।

प्रस्तुत छ उक्त नौबुदें इमेल जस्ताको तस्तै ।

आदरणीय अध्यक्षज्यु, संयोजकज्यु
सम्पुर्ण साथीहरु

नमस्कार
पार्टीको पछिल्लो वैचारिक ध्रुविकरण र संकटका बारेमा आफुले अनुभुति गरेका बिषय, आफ्ना भनाई र विकल्पहरुबारे तपाईहरुसँग छलफलगर्न आवश्यक भएको कारण यो पत्र लेखिरहेको छु । यसलाई अवश्यनै मनन् गर्नुहुनेछ ।

१. हाम्रो पार्टीमा पछिल्लो समय वैचारिक विमतिबाट सुरुभएको राजनीतिक ध्रुविकरण ब्यक्तिगत आरोप प्रत्यारोपमा झरेको छ । एक अर्काप्रति तिब्र र घृणायुक्त गालीगलौज सुरुभएको छ । म माथी पनि सामाजिक संजाल र गुटका बैठकहरुमा अनेकन् आरोप र गाली गरिएको पाएको छु । राजनीतिक विमती र गालीको भेद छुट्याउन नसक्दा हुने यस्तै हो। त्यसबाट निश्चयनै मलाई दुःख लागेको छ, यद्यापी मैले यसलाई अन्यथा ठानेको छैन । मलाई लाग्छ, हामीले छलफल गर्नुपर्ने बिषय ब्यक्तिगत छैनन् राजनीतिक छन् । र, राजनीतिक बिषयमा हामीले साझा र एकिकृत निश्कर्षहरु निकाल्यौ भने अन्य बिषयहरु आफै समाधान हुनेछन् । अन्यथा राजनीतिक बिषय भन्दा आरोप प्रत्यारोप प्रधान भएर जानेछ । जसले हामीलाई कहिल्यौ निश्कर्षमा पुर्याउने छैन ।

२. पार्टीको पछिल्लो संकट मार्ग परिवर्तन कि मुलबाटो भन्ने बिषयमा केन्द्रित छ । विचारमा हाम्रो मतएक्यता नहुनुनै हाम्रो संकटको मुख्य कारण हो । अतः पार्टीका बैठक र साथीहरुका प्रयत्न यि बिषयमा कसरी मतएक्यता सृजनागर्ने, कसरी वैचारीक ध्रुविकरण÷विभाजन रोक्ने र कसरी वैकल्पिक राजनीतिको मुख्य कार्यभारमा पर्टीलाई केन्द्रितगर्ने भन्नेमा संवेदनशिल हुनुपर्छ । बैठक, छलफलहरु बिषय केन्द्रित नहुने र यसको गम्भिरता नबुझ्ने हो भने त्यसको परिणाम कसैगरी सुखद हुदैन र हुनेछैन । गुदी छोडेर बोक्रोमा अल्झिनुले कसैलाई सहि ठाँउमा पुर्याउदैन । अतः यो बिषयमा गम्भिर हुन म साथीहरुलाई अनुरोध गर्दछु ।

३. केहि साथीहरुले यो समस्याको कारण कहाँ छ ? यो विभाजन र ध्रुविकरण कस्ले ल्यायो ? र, कस्ले पार्टीभित्र खेलिरहेको छ ? आदी प्रश्नहरु गर्नुभएको छ । यि निकै महत्वपुर्ण प्रश्नहरु हुन् । अतः यि प्रश्नका उत्तरहरु पनि महत्वपुर्ण ढंगलेनै खोज्नुपर्छ । मलाई लाग्छ, जो जो साथीहरु जानेर वा नजानेर पुर्वसाझा र पुर्वविवेकशिलको ध्रुविकरण गर्नुहुन्छ वा जो जो साथीहरु साझाको लुम्बिनी भेला र विवेकशीलको रोल्पा भेलाका प्रस्तावहरुमा पार्टीलाई लैजान चाहानुहुन्छ, खासमा समस्या, द्धन्द वा गतिरोध त्यहि छ । हामी न त विवेशील मात्र हौ, न त साझा मात्र । हामी विवेकशील साझा पार्टीमा छौ । यो हाम्रो आजको सत्य हो । लुम्बीनी वा रोल्पा भेला हाम्रो इतिहास हो । यी दुबै भेलालाई हामीले संमान गर्नुपर्छ । तर एकिकृत पार्टीको कार्ययोजना र कार्यदिशा लुम्बिनी वा रोल्पामा टेकेर बन्दैन । बरु यो हिजो हामीले बनाएको प्रारम्भिक र एकिकृत पार्टीको दस्तावेजमा टेकेर मात्र बन्नसक्छ । यो राजनीतिक तथ्यलाई ईन्कार गरेर ब्यक्ति ब्यक्तिमा गई, यसले यसो गर्यो वा त्यसले त्यसो गर्यो भन्नुको अर्थ छैन । समस्या जहाँ हो, समाधन त्यहि खोजौं ।

४. पार्टीको वैचारिक लाईन र कार्यदिशा बारेमा मैले पार्टी अध्यक्ष र संयोजकसँग निकै पटक कुरा गरेको छु । हाम्रा विचमा पछिल्लो पाँच, छ महिनादेखी कुराहरु भईनै रहेका थिए । तर पार्टीको मार्ग परिवर्तन गर्ने कि मुलबाटोमा जाने भन्ने बिषयमा हामी विच कुरा मिल्न सकेन । अन्ततः दस्तावेज आयो । दस्तावेज आएपछी स्वभावतः केहि साथीहरु मार्ग परिवर्तनको पक्षमा देखिनु भयो, केहि साथीहरु मुलबाटोको । संख्या कस्को पक्षमा कति छ भन्ने भन्दा बिषयको गम्भिर्यता के हो भन्ने मेरो चासो हो । अध्यक्षको प्रस्ताव सँगै अर्को प्रस्ताव आउनु अन्यथा होईन । तर यि प्रस्तावहरुलाई मिलाउन र साझा निश्कर्ष बनाउन पार्टीमा कसैले पनि प्रयत्न नगर्नु र एक अर्कोलाई दोषरोपण गरेर हाम्रो असिमित संभावनालाई विभाजन तर्फ लैजानु आजको मुख्य चिन्ता हो । यो बिषयमा अध्यक्ष ठिक, संयोजक बेठिक वा संयोजक ठिक अध्यक्ष बेठिक भनेर हुदैन। बरु कसरी साझा दृष्टिकोण निर्माणगर्ने ? त्यसमा हामी केन्द्रित हुनुपर्छ । अतः मेरो प्रश्न छ, ध्रुविकरणको पक्ष वा विपक्षमा नलागी विचमा बसेर दुवै पक्षलाई मिलाउन सक्ने साथीहरु हुनुहुन्छ ? वहाँहरुले वैचारिक एकताको प्रयत्न गर्नु राम्रो हुने मैले देखेको छु ।

५. पछिल्लो समय पार्टी केन्द्रका फरक फरक धारका दुईटा बैठकहरु भएका छन् । यो किन भयो ? अध्यक्षले यस्तो अवैधानिक बैठकको सुरुवात किन गर्नुभयो ? एउटा पक्षलाई दोष दिएर यसको कारण खोज्न सकिदैन । अध्यक्ष र संयोजकको बिश्वासको संकट हो यो । वहाँहरुको नेतृत्वको संकट हो यो । कतिपय साथीहरुले हामीलाई बैठकमा आउन र कुरा राख्न भन्नुभएको छ । अवश्यनै बैठकमा आउनु पर्छ र विचार राख्नुपर्छ । बैठकमा आउने नै हो, तर जव राजनीतिक मतमतान्तर बढ्छ त्यतिबेला सानासाना बिषयहरुले पनि अर्थ राख्दछन् । यसर्थ कस्तो बैठक गर्ने ? बैठकका ऐजेण्डाहरु के हुने ? र, बैठक कसरी बोलाउने ? यि बिषयहरु पनि अहिलेका लागि महत्वपुर्ण बिषय हुन् । अतः हाम्रो विधान, एकताको दस्तावेज र बैठक संचालनको विधी अनुसार बैठक बोलाउन सके, बैठकमा आउन कसैलाई पनि गाह्रो छैन । अतः म अध्यक्ष र संयोजकलाई संयुक्त बैठक बोलाउन अनुरोध गर्दछु । अन्यथा विधी र प्रकृया बाहिरको बैठकबाट निश्कर्ष आउदैन भन्नेकुरामा म साथीहरुलाई बिनम्रतापुर्वक ध्यानाकर्षण गर्न चाहान्छु ।

६. जहाँसम्म महाधिवेशनबाट वैचारिक निर्णय गरौं, अल्पमत र बहुमतबाट निश्कर्ष निकालौ भन्ने प्रस्ताव छ त्यो हेर्दा राम्रो तर अराजनीतिक प्रस्ताव हो । निश्चयनै महाधिवेशनले धेरै कुरा निर्णय गर्नसक्छ । पार्टीका कार्यक्रमहरु, कार्यनीतिहरु महाधिवेशनले टुंगोमा लैजान सक्छ । कतिपय प्राविधिक बिषयमा निर्णय दिन सक्छ । नेतृत्व छनौट गर्नसक्छ । तर बिपरित वैचारिक तथा राजनीतिक दृष्टिकोणहरुमाथी हामीले महाधिवेशनमा छलफल गरेर अल्पमत वा बहुमतबाट निर्णय गर्न चाह्यौ भने त्यसले पनि अन्ततः पार्टी विभाजन नै गर्छ । राजतन्त्र वा गणतन्त्र, धर्म निरपेक्षता वा हिन्दुधर्म सापेक्षता, एकात्मकता वा संघियता जस्ता बिषयहरु राज्यको रुप र चरित्र कस्तो बनाउने भन्ने महत्वपुर्ण र गम्भिर राजनीतिक बियषहरु हुन् । यि नितान्त दुई अलग घारहरु हुन् । यस्ता बिषयलाई अल्पमत वा बहुमतबाट निर्णयगर्न सकिदैन । एउटै पार्टीमा राजतन्त्रवादी वा गणतन्त्रवादी, धर्म निरपेक्षतावादी वा हिन्दुधर्म सापेक्षतावादी वा संघियतावादी वा एकात्मकतावादीहरु बस्न सक्दैनन् । यदि बस्छन् भने त्यहाँ राजनीति हुदैन । मात्र सत्ताको सौदावाजी हुन्छ । अतः यो हामीलाई बिभाजनगर्ने बिषय हो । हामी यता जानै हुदैन भन्ने मेरो प्रस्ताव हो । हामीले हिजो जे जस्ता प्रस्तावहरु साथ पार्टी निर्माण गर्यौ त्यसैले हामीलाई एकतावद्द बनाउछ र हाम्रो राजनीतिक स्पेस पनि त्यहि छ । यो कुरा साथीहरुलाई बुझाउन सकिएन वा साथीहरुले बुझ्न चाहानु भएन । त्यसैले हामी महाधिवेशन र सहभागीतामुलक लोकतन्त्रको कुरा गरेर बिषयको गम्भिर्यतालाई अवमुल्यन गरिरहेका छौ ।

६. जहाँसम्म अध्यक्षज्युले बोलाउनुभएको पछिल्लो एकतर्फी बैठकले समानान्तर गतिबिधी गर्ने साथीहरुलाई सचेतगर्ने वा कार्यवाही गर्ने निर्णय गरेको कुरा छ, संकट त्यहिनै हो । यो निर्णयले साथीहरुको सोचको प्रतिनिधित्व गर्छ भने त्यो निश्चयनै दुःखद कुरा हो । किनभने आजको आवश्यकता सचेतगर्ने वा कार्यवाही गर्ने होईन । आजको आवश्यकता किन दुई फरक समुहहरु बने, किन दुई फरक राजनीतिक दृष्टिकोणहरु बने, किन साथीहरुलाई बैचारिक एकतामा ल्याउन सकिएन र त्यसका लागी कसरी प्रयत्न गर्ने ? मुख्य बिषय यि प्रश्नहरुमा निहित छन् । अन्यथा पार्टीमा राजनीतिक वैचारिक संघर्षहरु चरेको वेला, प्राविधीक ढंगले एक वा अर्कोलाई सचेतगर्ने वा कार्यवाहीगर्ने कुराले कुनै अर्थ राख्दैन । यो त परम्परागत पार्टीहरुकै तरिका हुन्छ । किनभने कार्यवाही कार्यवाहीको खेलले कसैलाई टुंगोमा पुर्याउदैन । बरु समस्यालाई अझ पेचिलो बनाउछ । यसर्थ कार्यवाही र विभाजन कि सम्वाद र एकता ? आजको आवश्यकता के हो ? रोजौं ।

७. पछिल्ला अनौपचारिक बैठकहरुमा धेरै हानी नगरी छुट्टिनु राम्रो भन्ने साथीहरुको प्रस्ताव पनि आएको छ । को छुट्टिने ? किन छुट्टीने ? म पार्टी विभाजनको विपक्षमा छु । यो पार्टीलाई विभाजीत गरेर हैन, एकताको महाधिवेशन गरेर अझ सुदृढ बनाउने बेला हो । आजको आवश्यकता एकता महाधिवेशन हो । पार्टी नेतृत्वको सफलता पनि त्यसैमा निहित छ । आज हाम्रो विवेक नपुग्दा पार्टी विभाजन त होला, तर त्यसपछी यसले उठ्नै नसक्नेगरी नागरिकहरुको प्रश्नको सामना गर्नुपर्ने छ। जसको जवाफ सजिलो हुनेछैन । अतः राजनीतिक रुपमा म यतिमात्र भन्छु, म पार्टी विभाजनको पक्षमा छैन । म पार्टीलाई वैचारिक ध्रुविकरणगर्ने पक्षमा छैन । म मार्ग परिवर्तन गरेर अहिलेनै यसलाई छिन्नभिन्न बनाउने पक्षमा छैन । म निरन्तर संघर्ष र एकताको पक्षमा छु । अन्यथा वैधानिक रुपले एक अर्कोलाई कार्यवाही होला, तर राजनीतिक रुपले पार्टीमा समानान्तर गतिविधीहरु चलिनैरहने छन् र ति वैकल्पिक राजनीतिलाई अझ सुदृढगर्ने दिशामा केन्द्रित हुनेछन् ।

८. अहिलेको समस्या समाधानको मुल पक्षनै हाम्रो वैचारिक एकताको संभावना खोज्नु हो । यसका लागि मेरा केहि प्रस्ताव छन् । पहिलो, अहिले आएका दुबै दस्तावेजलाई पार्टीको औपचारिक प्रकृयामा संलग्न नगरौं । यसलाई अझै केहि समय अनौपचारिक छलफलमा राखौं । तर हिजो हामीले जुन जमिनमा उभिएर पार्टी निर्माण गर्यौ, त्यसलाई अझ सुदृढगर्दै महाधिवेशन गरौं । यो मेरो पहिलो प्रस्ताव हो । दोश्रो, अन्यथा दुबै प्रस्तावहरुलाई मिलाएर साझा बिन्दूहरुलाई जोडौ र एउटा दस्तावेज बनाउँ । यसोगर्दा दुबै दस्तावेजका विवादास्पद बिषयलाई अहिले छलफलमा नल्याउँ । यसका लागी दुबै पक्षले बिश्वास गरेका साथीहरुको कार्यदल बनाऔं । तेश्रो, अहिलेको नेतृत्वले पार्टी अनुशासन उलंघन गरेको र अस्वभाविक ध्रुविकरणमा पार्टीलाई लगेको कारण यो नेतृत्वले महाधिवेशन सम्म पद छाडौं । पार्टीका महिला, युवा वा अरुनै कोही ब्यक्तिको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाऔं र त्यसले सबैकुरा नयाँ ढंगले सुरुगरोस् । नयाँ नेतृत्व, नयाँ प्रस्तावबाट पार्टीलाई महासधवेशनमा लैजाउ । चौथो, पार्टीको राजनीतिक तथा सांगठनीक जीवन गतिहिन भयो, अतः यसलाई बैकल्पिक राजनीति निर्माण अभियानमा रुपान्तरिक गरौं र तलबाट नयाँ ढंगले पार्टी संरचना उठाउदै माथी तिर अगाडी बढौं ।

९. साथीहरु राजनीतिक समस्याका समाधनहरु राजनीतिक रुपमानै खोज्नुपर्छ । राजनीतिक भाष्य, राजनीतिक कार्यदिशा, राजनीतिक मुद्धाहरु अमुर्त आग्रह, पुर्वाग्रहमा बन्दैनन् । यसका लागी अनेक आयामहरुको गहिरो बिश्लेषण आवश्यक । त्यसका लागि जिम्मेवार ढंगले काम गरौं र पार्टीलाई बचाउ । हामी एक अर्कोलाई गाली गरेर हैन, एक अर्कोलाई बुझेर अगाडी बढौं । हामी कोहीपनि अनेक ब्यक्तिगत संभावनाहरु छोडेर पार्टी निर्माणमा होमिएका मान्छेहरु हौं । कोहि आज जोडिएका छौ, कोहिले बर्षौ देखी वैकल्पिक राजनीतिको अभियान गरेका हौं । अतः यो राजनीति हाम्रो उर्जाशिल जिवनको अभिन्न अंग हो । हाम्रो आस्था हो । हाम्रो बिश्वास हो । अतः यो पार्टी पुनः भत्किनु कसैको हितमा छैन । तर हाम्रो आफ्नै राजनीतिक बुझाई र पक्षघरताहरु पनि छन् । त्यसको संवेदनशिलता पनि छ । ब्यक्तिलाई ईन्कार गरेर वा आग्रह पुर्वाग्रहमा अल्झिएर ब्यवहार गर्दा अहिले त मजै हुन्छ, तर भबिश्यमा त्यसले राम्रो गर्दैन । साथीहरुलाई थाहैछ, समस्या एकातिर र औषधी अर्कोतिर गरेर रोगको उपचार हुदैन । यो बिषयमा हामी सबै सम्वेदनशिल हुनेनै छौं ।

एउटा अनन्त संभावना भएको वैकल्पिक राजनीतिको अभियान जोगिनुपर्छ र यसले नेपाली राजनीतिको युगिन कार्यभार पुरा गर्नुपर्छ । यसका लागि समस्या जे हो, त्यहि उभिएर समाधान खोजौं । यो कामका लागी म स्वयं आफुले खेल्नुपर्ने भुमीका लेख्न तयार रहने छु ।

सप्रेम धन्यवाद सहित
केशव दाहाल
०७८ भाद्र २०

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);