काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न माग गर्दै दायर रिट दर्ता गर्न अस्वीकार गर्ने (दरपीठ गर्ने) मुख्य रजिष्ट्रारलाई दर्ता नगर्नुको कारण पेस गर्न आदेश दिएको छ ।
अधिवक्ता प्रवेश केसीले दायर गरेको सम्पत्तिसम्बन्धी रिट एक महिनाअघि मुख्य रजिष्टार लालबाबु कुँवरले दर्ता गर्न नमिल्ने भन्दै फर्काइदिएका थिए ।
उनको दरपीठ आदेशविरुद्ध इजलासमा परेको निवेदनमा सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण कार्कीले दरपीठ गर्नुपर्ने कारण खुलाएर इजलासमा प्रतिवेदन पेस गर्न मुख्य रजिष्ट्रारलाई आदेश दिएका छन् ।
अधिवक्ता केसीले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, न्यायाधीशको सम्पत्ति गोप्य राख्ने विद्यमान कानुन बदर गर्नुपर्ने मागसहित रिट दर्ता गराउन खोजेका थिए ।
सम्पत्ति विवरण गोप्य राख्ने कानुन संविधानको धारा २७ को सूचनाको हकसँग बाझिएको भन्दै दर्ता गर्न खोजेको रिट उनले दर्ता गर्न अस्वीकार गरेका थिए । कुँवरको जवाफसहितको प्रतिवेदन पेस भएपछि इजलासले रिट दर्ता गर्ने या नगर्ने भन्ने आदेश दिनेछ ।