हेटौँडा बजार कि लुडोको बोर्ड ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

हेटौँडा बजार कि लुडोको बोर्ड ?

प्रदिप ढुंगाना,
मकवानपुर । स्वच्छ हराभरा नगरपालिकाको रुपमा दोस्रो नम्बरमा परेको हेटौँडा उपमहानगरपालिका पछिल्लो समय भद्दा र कुरुप बनिरहेको छ । विभिन्न व्यापारिक विज्ञापनका अमिल्दा होर्डिङ बोर्डले शहरको स्वरुपलाई नै प्रहार गरेको छ ।

बजारमा खुलेका विभिन्न इन्स्टिच्युट र उद्योग कलकारखानाका विभिन्न आकारप्रकारका भद्दा विज्ञापन बोर्डले शहर कुरुप देखिएको हो । बिजुलीको पोलमा अव्यवस्थित इन्टरनेट सेवा प्रदायक र केबलका तार र लेखनले फोहोर देखिएको शहरको स्वरुपबारे भने हेटौँडामा चिन्तन गर्नेहरु भने कम देखिन्छन् । बरु नगरपालिकालाई कम कर तिरेर बोर्ड राख्ने प्रतिस्पर्धा देखिँदा नगरपालिकालाई कर तिरेर व्यावसायिक प्रवद्र्धनका होर्डिङ बोर्डहरु भने कोरोना कहरले ग्राहक कुरिरहेका छन् ।

हरेक शहर एउटा न एउटा उत्पादनबाट डोमिनेट भइरहेको हुन्छ । उद्योगहरु ठिंग उभिएको पोल देख्यो कि रंग पोत्न भ्याईहाल्छन् । यस्तैमा हेटौँडामा अर्बौँ रुपैयाँ बिजुलीको पैसा नतिरेको सिमेन्ट उद्योगहरुले बिना कर प्रयोग गरेर व्यापार प्रवद्र्धन गरिरहेको छन् ।

हेटौंडाकै विभिन्न सिमेन्ट उद्योगहरुले हार्डवेयर पसलमा अनाधिकृत रुपमा बोर्ड राखेका छन् भने केही सिमेन्ट उद्योगको एकछत्र राजले जोर लात्ती बजारिरहेको छ । यसो त सरकारी स्वामित्वको रहेको हेटौँडा सिमेन्ट भने राजनीतिक खिँचातानी र शक्ति सन्तुलनमा रहेर व्यापार भन्दा बढी जागिरेहरुको दिन शुभ पारिरहेको छ । सिमेन्ट उद्योगका अनावश्यक प्रचारले हेटौँडा लगायत अन्य शहरको सुन्दरतामा ह्रास आएको मात्र छैन, पोलका विज्ञापनमा आगन्तुक तथा चालकहरु आकर्षित हुँदा दुर्घटना समेत हुने गरेका छन् ।

विज्ञापनका नाममा बिजुलीको पोल र घरका भित्ताप्रयोग हुँदा शहर नै कुरुप र गाइजात्रे प्रहसन थलोजस्तो देखिएपछि हेटौँडा उपहानगरपालिकाले यस्ता कर छली गर्ने उद्योगहरुको लेखन मेटाउने अभियान चलाएको छ । ठुला सिमेन्टउद्योगहरुले थोरै पैसामा सस्तो विज्ञापन गर्न खोज्दा सुन्दर शहर मानव बस्ती हो कि लुडोको बोर्ड जस्तो भान भनेर जिस्क्याएपछि नगरपालिकाले यस्ता लेखन मेट्न शुरु गरेको हो ।

हेटौँडामा घरका भित्ता, निशुल्क पाए सडक छेउछाउका ठूला ढुंगा, अग्ला पर्खाल, बिजुलीका पोल रंगाउँदै आफ्नो प्रचार गर्न कोही कम छैनन् । सिमेन्टका मात्र कुरा होइन कि, उच्च गुणस्तरका रंग कम्पनी दाबी गर्नेहरुले पनि घरका भित्ता पोत्न छाडेका छैनन् । हेटौँडाको शहरमा विज्ञापन गरेर बस्ती टाटेपाटे पारेका छन् ।

उपमहानगरपालिकाले शहरलाई सुन्दर बनाउन फूल र अशोकका रुख रोपेर शहरलाई सुन्दर बनाएपनि अव्यवस्थित होर्डिङबोर्ड र पेन्टिङले शहर फोहोरी देखिएको छ ।

हेटौँडा उपमहानगरपालिकाले थालेको अभियानमा सबैको साथ जरुरी छ । बजारमा रंगीन विज्ञापन गर्ने यिनै ठूला सिमेन्ट कम्पनीहरुको खानीको अवैज्ञानिक उत्खननले हेटौँडा आसपासका बस्तीसमेत संकटमा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);