किर्गिस्तानले इतिहासमा पहिलोपटक आफ्नो राष्ट्रिय भू–उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित भानडेनबर्ग स्पेस फोर्स बेसबाट स्थानीय समयअनुसार अक्टोबर १ मा सो भू–उपग्रह प्रक्षेपण गरिएको हो । यस ऐतिहासिक क्षणमा किर्गिस्तानका राष्ट्रपति सादिर जापारोभ आफैं प्रक्षेपण केन्द्रमा उपस्थित थिए । अमेरिकी अन्तरिक्ष संस्था स्पेस–एक्सको फाल्कोन ९ रकेटमार्फत अन्य धेरै भू–उपग्रहहरूसँगै किर्गिस्तानको स्याटेलाइटलाई पृथ्वीको कक्षमा स्थापित गरिएको हो । राष्ट्रपति कार्यालयकाअनुसार यस भू–उपग्रहको नियन्त्रण किर्गिस्तानको राजधानी बिस्केकस्थित केन्द्रबाट गरिनेछ ।
यस प्रविधिको प्रयोगबाट किर्गिस्तानले कृषि जमिन, हिमनदी, जलस्रोत, वन क्षेत्र र चरिचरन क्षेत्रको प्रभावकारी निगरानी गर्न सक्नेछ । प्राकृतिक पारिस्थितिक प्रणालीमा आउने परिवर्तनहरूको सुक्ष्म अध्ययन गर्न यो भू–उपग्रह कोसेढुङ्गा सावित हुने सरकारी दाबी छ ।विशेषगरी प्राकृतिक विपद्को पूर्वसूचना तथा निगरानीमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ। खडेरी, बाढी, पहिरो र डढेलोजस्ता विपद्को संकेत छिटो पत्ता लगाउन सकिने भएकाले क्षति न्यूनीकरणका लागि थप अवसर सिर्जना हुनेछ । भविष्यमा यस भू–उपग्रहबाट प्राप्त तथ्याङ्कलाई सरकारी डिजिटल प्रणालीसँग एकीकृत गरिने योजना छ । यसले सरकारी निर्णय प्रक्रिया, लगानीको योजना तर्जुमा र विभिन्न राज्य कार्यक्रमहरूको अनुगमनलाई थप वस्तुनिष्ठ र पारदर्शी बनाउन सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।
This website uses cookies.