इजिप्टको तटीय शहर अल–अलामेनमा पहिलो पटक ‘अल–अलामेन अफ्रिका फोरम’ शुक्रवार औपचारिक रूपमा शुरु भएको छ । महादेशभरका झन्डै १,५०० व्यावसायिक नेतृत्वकर्ताहरूलाई एकै थलोमा भेला गराएर व्यापार, लगानी र आर्थिक साझेदारीलाई नयाँ उचाईमा पु¥याउने उद्देश्यसहित यो मञ्चको आयोजना गरिएको हो । अक्टोबर २ देखि ४ सम्म सञ्चालन हुने यस मञ्चको सह–आयोजना इजिप्ट सरकार, अफ्रिकन एक्सपोर्ट–इम्पोर्ट बैंक र अफ्रिकन युनियन डेभलपमेन्ट एजेन्सीले संयुक्त रूपमा गरेका छन् । अफ्रिकी महादेशमा आर्थिक एकीकरणको गति बढाउन र निजी क्षेत्रको भुमिकालाई सुदृढ पार्न फोरमले मार्गचित्र तयार गर्ने अपेक्षा गरिएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै इजिप्टका योजना तथा आर्थिक विकास मन्त्री अहमद रोस्तमले अफ्रिका इजिप्टको ‘उच्च रणनीतिक प्राथमिकता’ मा रहेको उल्लेख गर्नुभयो । उहाँले अफ्रिकालाई केवल निर्यातको बजारका रूपमा मात्र नभई एउटा एकीकृत आर्थिक प्रणालीका रूपमा हेर्नुपर्नेमा जोड दिएका छन्।
मन्त्री रोस्तमले इजिप्ट र अन्य अफ्रिकी मुलुकका उद्यमीबीच ‘सह–नवाचार’ मोडलमा सहकार्य गर्न प्रस्ताव गरेका छन्, जसले प्रविधि आदानप्रदान र क्षेत्रीय मूल्य श्रृंखला निर्माणमा सघाउ पु¥याउनेछ । फोरममा अफ्रिकी कन्टिनेन्टल फ्री ट्रेड एरियाअन्तर्गत लगानी आकर्षित गर्न ‘पेसेन्ट क्यापिटल’ र भेन्चर क्यापिटलको बढ्दो भुमिकाबारे पनि गहन छलफल भइरहेको छ । इजिप्टले आफूलाई अफ्रिकी स्टार्टअपहरूका लागि विश्वव्यापी बजार प्रवेश गर्ने ढोका वा ‘लन्चप्याड’ का रूपमा उभ्याउने रणनीति लिएको छ । द्विवार्षिक रूपमा आयोजना हुने गरी शुरु गरिएको यस मञ्चले अफ्रिकाको व्यावसायिक भविष्यमा इजिप्टको भुमिकालाई थप परिष्कृत गर्ने विश्लेषकहरूको भनाइ छ ।





