काठमाडाैं । लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभरीको जनजीवन प्रभावित भएको छ ।
पछिल्लो बाढी पहिरोबाट अहिलेसम्म नवलपरासीमा दुई, दाङ ,उदयपुर र कैलालीमा एक– एक गरी पाँचजनाको मृत्यु भएको छ ।
नवलपुरमा तीन र रूपन्देहीमा एक गरी चारजना बेपत्ता छन् । यस्तै महोत्तरी, कैलाली, कञ्चनपुर, नवलपरासी, रुपन्देहीलगायतका जिल्लामा १५ सयभन्दा बढी घर डुबानमा परेका छन् ।
विभिन्न राजमार्ग तथा पुलहरूमा क्षति पुगेको छ । बाढीले नवलपरासीको रामग्राम– १६ पम्फापुरका विनोद पासी र उनका छोरा प्रदीपको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढी पसेपछि ज्यान जोगाउन निस्केकी सुनवल– १३ की ओरिसा तामाङ बेपत्ता भएकी छन् । बाढीले सदरमुकाम परासी सबैभन्दा बढी प्रभावित छ ।