त्रिशूलीमा सवारी दुर्घटना : ३ वर्षमा ४२ को मृत्यु, १८ बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १२ कार्तिक । तीन वर्षयता नारायणगढ-मुग्लिन सडकखण्डबाट बस त्रिशूलीमा खस्दा ४२ को ज्यान गएको छ। नदीमा खसेका १८ को अझैसम्म अत्तोपत्तो छैन। उक्त अवधिमा २९ गाडी त्रिशूलीमा खसेको प्रहरी रेकर्ड छ।

उक्त सडकखण्डमा यही अवधिमा भएका सवारी दुर्घटनामा थप ३३ को मृत्यु भएको छ भने ८९ घाइते छन्। असोज १५ गते नारायणगढबाट भैंसी लोड गरी राजधानी जाँदै गरेको ना ७ ख १४५७ नम्बरको ट्रक भरतपुर महानगर-२९ घुमाउने भन्ने स्थानबाट त्रिशूलीमा खस्दा ट्रकका सहचालक वीरगन्ज-३२ का २३ वर्षे काधिर नटको मृत्यु भयो।

गएको असार ९ गते भरतपुर महानगरपालिका-२९ कालीखोलास्थित सडकमा पहिरो खस्दा त्रिशूली नदीमा डुबेर तीन यात्रुको मृत्यु भयो। घटनामा एक बेपत्ता भए। प्रहरीका अनुसार यो सडकमा आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी सवारी दुर्घटना भए। जसमा ४८ ले ज्यान गुमाए।

०७१ चैतयता भएका सवारी दुर्घटनामा ७५ ले ज्यान गुमाएकामा ४२ को त्रिशूलीमा खसेर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक सन्तोष पन्तले बताए। ‘सवारी चालकको लापरबाही, सडकको क्षमता, सवारी संख्या वृद्धि दुर्घटनाका कारण हुन्,’ उनले भने, ‘दुर्घटना न्यूनीकरण प्रयास जारी छ।’

उक्त सडकखण्डमा सवारीमाथि पहिरो खस्दा ५ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनायो । यद्यपि, यस खण्डमा सवारी दुर्घटनाको जोखिम पछिल्लो समय घटेको प्रहरी दाबी छ।

‘साँघुरो र जीर्ण सडकमा ओभरटेक गर्दा धेरैजसो दुर्घटना भएको पाइयो,’ जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले भने। सडकको अवस्था मध्यनजर गर्दै चालकले सावधानी अपनाउनुपर्नेमा त्यसो नगरेकाले दुर्घटना बढेको थापाले जनाए ।

बेपत्ता फेला पर्दैनन्

गएको असोज पहिलो साता गौरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ३७०९ नम्बरको रात्रिबस नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा अनियन्त्रित भई बस त्रिशूलीमा खस्दा २५ यात्रुको मृत्यु भयो। दुर्घटनामा बेपत्ता १० यात्रु अहिलेसम्म फेला परेका छैनन्।

बेपत्ताको खोजीमा लागिपरे पनि फेला पार्न नसकेको एसपी थापाको भनाइ छ। ‘धेरै दिनसम्म खोजी गर्छौं,’ उनले भने, ‘ठूलो नदीमा बेपत्ता भएका धेरैजसो फेला पर्न सक्दैनन्,’ उनले भने। गत असोज ९ गते दारेचोक–३ घोप्टेभीरमा पूर्वगृहमन्त्री माधव घिमिरे सवार बा ९ च १५३१ नम्बरको जिप अनियन्त्रित भई सडकबाट २ सय मिटर तल त्रिशूलीमा खस्दा ४ जनाको मृत्यु भएको थियो। घिमिरेसहित २ जनाको अहिलेसम्म शव फेला परेको छैन। आजको कान्तिपुर दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);