अनियमितता र भ्रष्टाचार नगर्न मातहतका निकायलाई ऊर्जामन्त्री भुसालको कडा निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अनियमितता र भ्रष्टाचार नगर्न मातहतका निकायलाई ऊर्जामन्त्री भुसालको कडा निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका निकायलाई कडा निर्देशन दिएकी छन् ।

मंगलबार नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफूले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई प्राथमिकतामा राखेको भन्दै अनियमितता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएकी हुन् । कसैले भ्रष्टाचार गरेमा कठोर कदम चाल्ने उनको चेतावनी छ ।

मन्त्री भुसालले भनिन्– ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र चेन अफ कमाण्डलाई मैले सधैँ प्राथमिकतामा राख्ने गरेको छु । अनियमितता, भ्रष्टाचार कहीँ कसैले पनि नगर्न म निर्देशन गर्दछु । यदि कोही यस्तो गतिविधिमा संलग्न भएको भेटिएमा कठोर कदम चालिनेछ ।’

मन्त्री भुसालले किसानलाई सिँचाईमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराउने पनि आफ्नो प्राथमिकता रहेको उल्लेख गरिन् । उनले आगामी दिनमा वर्षायाममा विद्युत खेर जान नदिन र खपत बढाउनका लागि वर्षायाम र सुख्खा यामको फरक–फरक विद्युत महशुल निर्धारण गर्ने निर्णय भइसकेको पनि जानकारी दिइन् ।

‘आगामी दिनमा वर्षायामको विद्युत खेर जानसक्ने अवस्थालाई मध्येनजर गरी आन्तरिक खपत बढाउने कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्दछ । यसलाई मध्यनजर गरी वर्षायाम र सुख्खायामको फरक–फरक विद्युत महशुल निर्धारण गर्ने निर्णय सञ्चालक समितिले गरिसकेको छ ।’

उनले विद्युत प्राधिकरणले ग्राहकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नुपर्ने र गुनासोहरुको तत्काल सम्बोधन गर्न संयन्त्र बनाउने तथा वितरण संरचनाको स्तरोन्नति एवम् विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताईन् ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वि.सं. २०८० सालभित्र नेपालका सबै जनसङ्ख्यामा विद्युतको पहुँच पु¥याउने सरकारको लक्ष्य पूरा गर्नेगरी प्राधिकरणले काम अगाडी बढाएको बताए । उनले महाराजगञ्ज वितरण केन्द्रका केही स्थानमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य सम्पन्न भएको र कुलेश्वर, कीर्तिपुर, बानेश्वर, जोरपाटी र बालाजुमा वितरण लाइन भूमिगत गर्ने काम अगाडी बढेको बताए ।

त्यस्तै ललितपुर, भक्तपुर, पोखरा र भरतपुरमा पनि वितरण लाइन भूमिगत गर्ने कामको प्रक्रिया सुुरु भएको पनि घिसिङले जानकारी दिए ।

कार्यकारी निर्देशक घिसिङले देशभर थ्रिफेज मिटरलाई स्मार्ट बनाउने कार्य अगाडी बढाइएको पनि बताए । वितरण प्रणालीलाई स्वचालित बनाउने कामको पनि प्रक्रिया थालनी गरिएको उनले उल्लेख गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);