टर्कीः भ्रष्टाचार अनुसन्धानका क्रममा मेयरसहित ५५ जना हिरासतमा | ईमाउण्टेन समाचार

Our Network

साउन १५ २०८३, शनिबार

टर्कीः भ्रष्टाचार अनुसन्धानका क्रममा मेयरसहित ५५ जना हिरासतमा

टर्कीको प्रहरीले राजधानी अङ्काराको एतिमसगुत नगरपालिकाका मेयर एर्दाल बेसिकिओग्लुसहित ५५ जनालाई भ्रष्टाचार अनुसन्धानका क्रममा हिरासतमा लिएको छ । आन्तरिक मन्त्रालयका अनुसार विपक्षी दलद्वारा सञ्चालित नगरपालिकालाई लक्षित गरी यो कारबाही अघि बढाइएको हो । पक्राउ परेका मेयर बेसिकिओग्लु प्रमुख विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सीएचपी) का सदस्य हुन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी टर्कीका एक चर्चित अभिनेताका रूपमा स्थापित थिए । मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार यस अभियानका क्रममा उनका तीनजना उपमेयरहरूलाई समेत नियन्त्रणमा लिइएको छ ।

नगरपालिकाभित्र भएको भनिएको भ्रष्टाचार र अनियमितताको उजुरीका आधारमा अभियोजकहरूले गिरफ्तारी वारेन्ट जारी गरेपछि बिहीवार बिहानै समन्वयित रूपमा छापा मारिएको थियो । प्रहरीले नगरपालिकाको कार्यालय र संदिग्ध व्यक्तिहरूको निवासमा समेत विस्तृत खानतलासी गरेको छ । पछिल्लो समय विपक्षी दल सीएचपीको नेतृत्वमा रहेका विभिन्न नगरपालिकाहरूमा भ्रष्टाचार अनुसन्धानलाई तिब्र बनाइएको छ । यसै सिलसिलामा, गत बुधबार मात्रै इस्तानबुलको उस्कुदार नगरपालिकाकी मेयर सिनेम देदेताससहित २३ जना अधिकारीहरूलाई हिरासतमा लिइएको थियो । उनीहरूमाथि निर्माण तथा बसोवास अनुमति पत्र वितरणका क्रममा घुसखोरी र असुली गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

ताजा समाचार