दिलीप शर्मा,
चितवन । राप्ती नगरपालिका की सुजिता भण्डारीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दाका आरोपीलाई जेल चलान गरिएको छ ।
जिल्ला अदालत चितवनले ५० हजार धरौटी माग गरेकोमा धरौटी बुझाउन नसकेपछि आरोपी जेल चलान भएका हुन् । सो प्रकरणमा सुजिताका दाजु पर्ने सुकदेव भण्डारी बिरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा चलेको थियो । अदालतका श्रेस्तेदार किशोर आचार्यका अनुसार जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले थुनछेक बहसपछि सुकदेवलाई ५० हजार धरौटी माग गरेको थियो ।
मृतक सुजिताकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिएकी थिइन् । त्यसको भोलिपल्ट नै प्रहरीले सुकदेवलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।
राप्ती नगरपालिका–३ की २३ वर्षीय सुजिता असार ११ गते बिहानै घरबाट निस्केकी थिइन् । अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजी गरेको थियो । तर, घरबाट निस्केको नौ दिनपछि असार २० गते साँझ उनको शव जंगलमा भेटिएको थियो ।
काठमाडौं को त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भए पनि मृत्युको कारण खुल्न सकेको थिएन। भिसेरा रिपोर्ट पनि अझै प्राप्त हुन सकेको छैन। यस घटनाबारे चितवन प्रहरीले गरेको पत्रकार सम्मेलनमा हाडनाता सम्बन्धभित्र सुजिता प्रेम सम्बन्धमा परेपछि आत्महत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष थियो ।
यता सुजिताको साइलो बुबाले आइतबार पत्रकार सम्मेलन गरि स्थानिय को चाहाना बिपरित सुजिताको शब दाहसस्कार गर्दा परिवार नै सामाजिक बहिस्कारमा परेको बताएका थिए। सुजिताका साइलो बुबा कमलनाथ भण्डारीले सुजिताले आत्महत्या गरेको नभई हत्या भएको दाबी गरेको थिए ।
मानसिक अवस्था ठिक हुदा हुदै आत्महत्या गर्न पाँच घण्टा हिँडेर जानु को कारण प्रहरीले बताउनु पर्ने साइलो बुबा कमलनाथ ले बताएका थिए। केही दिन मा भिसेरा रिपोर्ट आउने भनिएको मा अझै पनि नआउनुले शंका उब्जिएको उनको भनाइ थियो।
आत्महत्या गर्न बाध्य भएको भन्ने भिडियो प्रहरीले फेला पारेको भनेर हल्ला फिजाउनु वा गोप्य राखिनुले सुजिताको हत्या भएको हुन सक्ने उनको दाबी थियो।