काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
शनिबार स्थगित बैठक आज अपराह्न ३ बजे बस्न लागेको हो । पार्टी एकताको पहल गर्न भन्दै शनिबार केही बेर बसेर स्थगित भएको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो ।
बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णता लगायतका विषयमा छलफल हुने बताईएको छ । एमाले भित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव बमोजिम विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे बैठकमा छलफल हुनेछ ।
त्यस्तै‚ केही समयभित्र गर्ने भनिएको पार्टीको विधान अधिवेशनको तयारीबारे पनि स्थायी कमिटी बैठकमा छलफल गरिने बताईएको छ । शनिबार बोलाइएको स्थायी कमिटी बैठकमा पनि पार्टीको माधव नेपाल पक्ष सहभागी भएको थिएन ।
बैठकमा अध्यक्ष केपी ओलीले विघटित कार्यदलका सदस्यहरुसँग सामान्य छलफल गरेर निस्किएका थिए । ओली पक्षले बोलाएको स्थायी कमिटी बैठकमा नजाने नेपाल पक्षले बताउँदै आएको छ ।
नेपाल पक्षका नेताहरुले शनिबार बैठक स्थगित गर्न आग्रह गरेपछि बैठक आइतबार फेरि ३ बजे बस्नेगरी स्थगित गरिएको थियाे । आइतबार दिउँसोसम्म पनि टुंगो नलागेमा नेता नेपाललाई नपर्खिने नेताहरुको भनाई छ ।