काठमाडौं । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकले नेपाल र बेलायत सरकारलाई आफ्नो माग पूरा गरिदिन भन्दै सांकेतिक प्रदर्शन गरेका छन् । आइतबार संसद भवन अगाडि उनीहरुले सांकेतिक प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सत्याग्रह संघर्ष समिति नेपालका संयोजक एलबी घिसिङले गोर्खाली सैनिक २०७ वर्षदेखि ब्रिटिशको विभेदको शिकार भएको बताएका छन् । संयोजक घिसिङले यो अपमान र पीडा सबै नेपालीहरुको भएकोले सरकार, सधन र सडकमा यी विषयहरु उठाईदिन माग गरे । घिसिङले आफ्ना मागहरुमा चासो दिएर सम्बोधन नगरे २१ जुलाईबाट बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसन बस्ने समेत चेतावनी दिए ।
बेलायती सरकारले नेपाली ब्रिटिश सैनिकहरुलाई दासको जस्तो व्यवहार र अमानवीय व्यवहार गरेको छ, घिसिङले भन्नुभयो, यदि दुवै सरकारले यी विषयमा चाँडो छलफल गरेर ब्रिटिश सरहकै व्यवहार गर्नुपर्छ ।
३२ वर्षदेखि समानता, सम्मान र इज्जतका लागि संघर्षरत रहेको जनाउँदै घिसिङले ३ मेमा अल्टिमेटम दिएपनि चासो नदिएकोले १५ जुन २०२१ मा सडक प्रदर्शन गरेर बेलायनी प्रधानमन्त्री बोरिस जोनसनलाई पुनः स्मरण गराएको जनाए ।
ब्रिटिश आर्मी सरह नै गोर्खा ब्रिटिश आर्मीले पनि तलब, पेन्सन र सेवासुविधा पाउनुपर्ने उनीहरुको माग छ ।