काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
मंगलबार निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएसँगै रोकिएको स्थायी कमिटी बैठक आज बस्न लागेको हो ।
आजको बैठकमा पार्टी भित्रको आन्तरिक विवाद तथा कार्यदलले गरेको १० बुँदे सहमतिका बारेमा समीक्षा हुने बताइएको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज अपरान्हसम्म पार्टी कार्यालय थापाथलीमा स्थायी कमिटी बैठक बस्ने तयारी भए पनि समय निर्धारण भइसकेको छैन ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको सहयोगमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सो विषयमा पार्टीभित्र समीक्षा हुने नेता तामाङले बताए ।
कार्यदलले आन्तरिक विवाद समाधान गर्नेगरी १० बुँदे सहमति गरिसकेकाले बैठकबाट सो सहमति अनुमोदन हुने पनि उनले बताए । स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठकको समय निर्धारण हुने बताइएको छ ।