दक्षिण चीनको सेन्जेन सहरका सडकहरूमा विपन्न वर्गलाई लक्षित गर्दै रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराउने ‘स्मार्ट फूड लकर’हरू सञ्चालनमा आएका छन् । यो सेवा ‘फुड बैंक’ नामक एक सार्वजनिक कल्याणकारी अभियानको हिस्साको रूपमा सुरु गरिएको हो । यी स्मार्ट लकरहरूमा मुख्यतया विभिन्न व्यावसायिक प्रतिष्ठान र सुपरमार्केटहरूबाट संकलन गरिएका खाद्य सामग्रीहरू राखिने गरिन्छ । लकरमा राखिने सबै सामग्रीहरूले अनिवार्य रूपमा खाद्य सुरक्षाको मापदण्ड पूरा गरेको सुनिश्चित गरिन्छ । चौबीसै घण्टा सञ्चालन हुने यी लकरहरूले उपलब्ध खाद्य सामग्रीको अवस्थाबारे वास्तविक समयको जानकारी प्रदर्शन गर्दछन् । प्रयोगकर्ताहरूले अनलाइन माध्यमबाट आफूलाई आवश्यक सामग्री उपलब्ध भए–नभएको जाँच गर्न र तिनलाई आरक्षित गर्नसक्ने व्यवस्था गरिएको छ । खाद्य सामग्री प्राप्त गर्नका लागि प्रयोगकर्ताले अनलाइन आरक्षण गरेपछि लकरमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ ।यस अभियान अन्तर्गत विशेष गरी न्यून आय भएका र असहाय समूहहरूलाई प्राथमिकता दिइएको छ । यद्यपि, बेलुका ८ बजेपछि लकरमा बाँकी रहेका सामग्रीहरू जोसुकै सर्वसाधारणले पनि लिन सक्ने प्रावधान राखिएको छ ।
यस नवीन पहलले खाँचोमा परेका व्यक्तिहरूलाई प्रत्यक्ष सहयोग पु¥याउनुका साथै खाद्य वस्तुको बर्बादी न्यूनीकरण गर्न र समाजमा दिगो जीवनशैलीको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।




