बैंककमा एसियाकै ठूलो खाद्य प्रदर्शनी शुरुः ‘फ्युचर फुड हब’ बन्ने थाइल्याण्डको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

बैंककमा एसियाकै ठूलो खाद्य प्रदर्शनी शुरुः ‘फ्युचर फुड हब’ बन्ने थाइल्याण्डको लक्ष्य

एशियाकै अग्रणी खाद्य तथा पेय पदार्थ व्यापार मेला ‘थाइफेक्स–अनुगा एसिया २०२६’  थाइल्याण्डको राजधानी बैंककमा शुरु भएको छ । विश्वका १३० भन्दा बढी देश र क्षेत्रका खरिदकर्ताहरूलाई आकर्षित गर्दै शुरु भएको यस मेलामा बृहत् व्यापारिक अन्तरक्रिया भइरहेको छ । हालसम्मकै ठूलो स्तरमा आयोजना गरिएको यस प्रदर्शनी १ लाख ४० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । प्रदर्शनीमा थाइल्याण्डसहित ५६ देशका ३ हजार ५ सय ९० कम्पनीहरूले ६ हजार ७ सय १० बुथहरूमार्फत आफ्ना उत्पादनहरू प्रदर्शन गरिरहेका छन् । आयोजकले यस पाँच दिने मेलामा ९० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा राखेका छन् । यस वर्षको संस्करणमा विशेष गरी भर्खरै बजारमा आएका उत्पादन, उदाउँदा ब्रान्ड र मुख्य वितरण माध्यममा पुिननसकेका नवप्रवर्तनकारी खाद्य सामग्रीहरूलाई विशेष प्राथमिकता दिइएको छ । यस मेलामार्फत १३० अर्ब भाट (करिव ३.९९ अर्ब अमेरिकी डलर) बराबरको व्यापारिक कारोबार हुने लक्ष्य राखिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चर्नविराकुलले खाद्य उद्योग थाइल्याण्डको प्रमुख शक्ति भएको उल्लेख गर्नुभयो । उहाँले थाइल्याण्ड अब परम्परागत ‘विश्वको भान्सा’ को पहिचानभन्दा माथि उठेर नवप्रवर्तन, स्वास्थ्य र दिगोपनामा आधारित ‘फ्युचर फुड हब’ बन्ने दिशामा अग्रसर रहेको बताउनु भयो ।
प्रधानमन्त्री चर्नविराकुलका अनुसार थाइ सरकारले दीर्घकालीन र दिगो आर्थिक वृद्धिका लागि स्मार्ट कृषि, जैव प्रविधि (बायोटेक्नोलोजी), वैकल्पिक प्रोटिन र ‘बायो–सर्कुलर–ग्रीन’ (बीसीजी) इकोनोमी मोडललाई उच्च प्राथमिकतामा राखेको छ । थाइल्याण्डको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन विभाग, थाइ चेम्बर अफ कमर्स र जर्मनीको ‘कोल्नमैसे’ द्वारा संयुक्त रूपमा आयोजित यस मेलामा नौवटा मुख्य क्षेत्रका उत्पादनहरू समावेश छन् । यसमा दैनिक उपभोग्य वस्तुदेखि भविष्यका खाद्य प्रविधि र दिगो खाद्य प्रणालीका नवीनतम प्रयोगहरू प्रदर्शनीमा राखिएका छन् । शनिवारसम्म चल्ने यस प्रदर्शनीमा विशेष सेमिनार, अन्तक्र्रिया र उद्योगका पछिल्ला प्रवृत्तिहरूबारे जानकारी दिने विभिन्न गतिविधिहरू समेत सञ्चालन भइरहेका छन् । यी कार्यक्रमहरूले व्यवसायीहरूलाई उपभोक्ताको बदलिँदो आवश्यकता र उद्योगको भविष्यबारे स्पष्ट मार्गचित्र प्रदान गर्ने विश्वास लिइएको छ ।

Leave a Reply