काठमाडौँ, ८ कार्तिक । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संघीय समाजवादी फोरमसँगको चुनावी तालमेल छलफलकै चरणमा रहेको बताएका छन्। एक चर्चित रेडियो कार्याक्रममा कुरा गर्दै नेता महतोले तालमेलका बारेमा वार्ता जारी रहेको जानकारी दिँदै २ दिनभित्रमा टुङ्गो लगाउने बताए।
फोरम र राजपाबिचमा कुनै विवाद नभएको दाबी गर्दै महतोले चुनावी तालमेल सफल हुने बताएका छन्। आवश्यकता अनुसार दुई दलबिचमा समझदारी हुनुपर्ने औँल्याउँदै नेता महतोले मिलेर चुनावमा जान फोरमलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेससँग पनि चुनावी तालमेलका बारेमा कुरा भइरहेको जानकारी महतोले दिए। वाम गठबन्धन बनिसकेको अवस्थामा लोकतान्त्रिक गठबन्धनको आवश्यकता देखिएकाले कांग्रेससँग पनि गठबन्धन गरेर चुनावमा जानुपर्ने महतोको तर्क छ।
मधेशकेन्द्रित तालमेल गर्नुपर्ने महतोको भनाई छ। मधेशमा आफ्नो दलको जनमत धेरै भएकाले राजपाले कांग्रेससँग सिट संख्या मागेको नभै आफुहरुले कांग्रेसलाई हैसियत अनुसार सिटसंख्या दिने महतोको भनाई छ। २ नम्बर प्रदेशमा कांग्रेसको प्रभाव कम भएकाले एक्लै चुनाव लड्न सक्ने अवस्था नरहेको महतोको दाबी छ।




