कांग्रेस र लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल र पछि पार्टी एकीकरण हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौँ, २३ असोज । कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच तत्कालका लागि चुनावी तालमेल एवं प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि पार्टी एकीकरणको प्रक्रिया अघि बढाउने विषयमा छलफल सुरु भएको छ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले पार्टी एकीकरणको प्रक्रिया सुरु गरेपछि कांग्रेस तथा लोकतान्त्रिक फोरमले पनि भविष्यमा एउटै पार्टी बनाउने विषयमा छलफल सुरु गरेका हुन्। दुवै पार्टीका नेताहरूले तत्काल चुनावी तालमेलबाट सहकार्य सुरु गरी आसन्न निर्वाचनपछि पार्टी एकता प्रक्रिया सुरु गर्ने जानकारी दिए।

कांग्रेस नेता रमेश लेखकले लोकतान्त्रिक फोरमसँग तत्कालका लागि चुनावी तालमेल र निर्वाचनपछि पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा छलफल सुरु भएको जानकारी दिए। ‘तत्कालका लागि चुनावी तालमेलबाट सहकार्य सुरु गरी निर्वाचनपछि लोकतान्त्रिक फोरमसँग पार्टी एकता प्रक्रिया अघि बढाउने गरी छलफल सुरु भएको छ,’ लेखकले नयाँ पत्रिकासँग भने, ‘लोकतन्त्रमा आस्था राख्ने पार्टीहरू एउटा बनाई अघि बढ्ने रणनीतिअनुरूप हामीले लोकतान्त्रिक फोरमसँग छलफल सुरु गरेका हौँ।’

लोकतान्त्रिक फोरमका प्रमुख सचेतक योगेन्द्र चौधरीले कांग्रेससँग पार्टी एकीकरण र चुनावी तालमेलका लागि पहिलादेखि नै छलफल हुँदै आएको बताए। ‘कांग्रेससँग पार्टी एकीकरण र चुनावी तालमेलका विषयमा स्थानीय तह निर्वाचनका वेलादेखि नै छलफल सुरु भएको हो,’ चौधरीले नयाँ पत्रिकासँग भने, ‘तत्कालका लागि चुनावी तालमेल गर्ने सहमति भएको छ। एकीकरणका विषयमा प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनपछि छलफल हुन्छ।’

दुई पार्टीबीच चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति बनिसकेको र सिट बाँडफाँडको विषय एक-दुई दिनमै दुई पार्टीका शीर्ष नेता बसेर टुंग्याउने लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीले बताए। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);