एजेन्सी । यही जुलाई २३ देखि जापानमा सुरु हुन लागेको टोकियो ओलम्पिकमा दर्शकलाई प्रवेश निषेध गरिएको छ । कोरोना संक्रमण जोखिमलाई मध्ये नजर गर्दै ओलम्पिक आयोजक कमिटीले ओलम्पिकमा दर्शकलाई प्रवेश नदिने निर्णय गरेको हो ।
बिहीबार जापान सरकार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, टोकियो २०२० आयोजक समिति र टोकियो मेट्रोपोलिटानबीच बैठकले यस्तो निर्णय गरेको हो । यसअघि जापान सरकारले बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखी टोकियोमा संकटकाल लागु गरि सकेको छ ।
ओलम्पिकमा ११ हजार खेलाडीले प्रतिस्पर्धा गर्ने छन् भने हजारौं अधिकारी तथा कर्मचारीहरु टोकियो पुग्ने छन् । ओलम्पिक सुरु हुन अब दुई साता मात्र बाँकी छ । ३१ औं गृष्मकालीन ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा आयोजना हुँदैछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार जापानमा ८ लाख ११ हजार ७ सयबढी कोरोना संक्रमित भईसकेका छन् भने १४ हजार ८ सयभन्दा बढीले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।