प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोरोनविरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीबार पोखरा महानगरपालिकाको नवौं नगर सभामा बोल्दै मुख्यमन्त्री पोखरेलले नागरिकको जीवन जोगाउन र उनीहरुको स्वास्थ्य रक्षाका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाएका हुन् । संघ सरकारले अनुदानका रुपमा पाउने र खरिद गर्ने बाहेक पनि निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानका बारेमा समेत आफूहरुले अध्ययन गरिरहेको उनले बताए ।

संघीयताको आधार स्तम्भ स्थानीय तहलाई थप मजबुत र अधिकार सम्पन्न गराउन संघ र प्रदेश सरकार लाग्नु पर्ने मुख्यमन्त्री पोखरेलले बताए । उनले लोकतन्त्रको आधार स्तम्भ स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनु पर्ने बताएका हुन् । उनले भने, ‘संविधानमा उल्लेखित साझा अधिकारका सूची कार्यान्वयनमा साझा दृष्टिकोण भने बनाउनु पर्नेछ ।’ उनले विकास निर्माणका कार्य र राजश्वको योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप साझेदारी र सहकार्य हुनु पर्ने बताए ।

कार्यक्रमको सुरुमा मुख्यमन्त्री पोखरेलले महानगरले प्रकाशन गरेको कानुनहरुको संगालो विमोचन गरे ।

कोरोना नियन्त्रण र प्राकृतिक प्रकोप पीडितको व्यवस्थापनमा प्रदेशले बनाएका योजनामा महानगरबाट सहयोगको अपेक्षा गरेको भनाई उनले राखे । यसैगरी गण्डकी प्रदेशको लाइफलाइन कोरोला, पोखरा, त्रिवेणी सडकको निर्माणमा समेत सहकार्य गर्न सकिने उनको भनाई थियो ।

प्रदेश र स्थानीय तहमा अझै पनि जनशक्ति व्यवस्थापन ठूलो चुनौती रहेको भन्दै यसका लागि संघ सरकारले छिटो निजामती सेवा ऐन ल्याउनु पर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री पोखरेलले प्रदेश समृद्धिको मुख्य आधार पर्यटन नै भएकाले पोखरालाई पर्यटकीय नगर घोषणा गरेर त्यसै अनुसारको पूर्वाधार तयार सरकार प्रतिबद्ध रहेको जनाए ।

प्रदेश सरकारले घोषणा गरेको स्तन क्यान्सरको निशुल्क उपचार, ६५ वर्ष माथिका नागरिकहरुको निशुल्क उपचार, विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रममा पनि सहकार्य गर्न सकिने मुख्यमन्त्री पोखरेलले बताए ।

यसैगरी सक्षम महिला समानान्तर पाइला कार्यक्रम, सीप, दक्षता र रोजगारी, युवा पलायन रोक्ने हाम्रो जिम्मेवारी, एक सहकारी एक उत्पादन कार्यक्रम र सूचना प्रविधि पार्क लगायतका कार्यक्रमहरुमा सहकार्य र साझेदारी गर्न सकिने मुख्यमन्त्री पोखरेलले बताए ।

पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु आ.व.का लागि ५ अर्ब ७२ करोडको बजेट ल्याइएको थियो । उपमेयर मञ्जु गुरुङले विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको छ । पुँजीगततर्फ ३ अर्ब ३७ लाख रुपैयाँ अर्थात् ५३.६ प्रतिशत विनियोजन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);