नयाँ मुलुकी ऐन: हत्यारालाई बाँचुन्जेल जेल, बहुविवाहमा पाँच वर्ष, गर्भपतन गरे ६ वर्ष | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नयाँ मुलुकी ऐन: हत्यारालाई बाँचुन्जेल जेल, बहुविवाहमा पाँच वर्ष, गर्भपतन गरे ६ वर्ष

काठमाडौँ, ६ कार्तिक । मुलुकी ऐन एक सय ६४ वर्षपछि पूर्ण रूपमा नयाँ बनेको छ। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले डेढ शताब्दीअघि बनाएको ऐन पटक-पटक संशोधन हुँदै आए पनि पूर्ण रूपमा प्रतिस्थापन भएको थिएन। मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी संसद्ले पारित गरेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि कानुन बनेको हो।

आगामी १ भदौदेखि मात्र कार्यान्वयनमा आउने मुलुकी ऐनअन्तर्गत फौजदारी कसुरसम्बन्धी कानुनमा हत्या, अपहरण, बहुविवाह, गर्भपतनलगायतबारे सजायको व्यवस्था छ। नयाँ मुलुकी ऐन कार्यान्वयन भएपछि जन्मकैदको सजाय पाउनेले २५ वर्ष जेल बस्नुपर्ने भएको छ। यसअघि जन्मकैदको गणना गर्दा २० वर्ष मानिँदै आइएकोमा नयाँ ऐनमा पाँच वर्ष थपिएको छ।

घटनाको प्रकृतिअनुसार सजाय
जानाजानी वा नजानेर गरिएका कसुरमा फरक–फरक सजाय निर्धारण गरिएको देवानी कानुनको संशोधन र एकीकरण गर्न गठित उपसमिति संयोजकसमेत रहेका कांग्रेस नेता राधेश्याम अधिकारीले बताए।

कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने कुनै काम गर्दा आत्मसंयमका लागि उत्तेजना दिलाउने व्यक्तिलाई हत्या गर्नेलाई १० देखि १५ वर्ष जेल सजाय र एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था नयाँ मुलुकी ऐनमा गरिएको छ । मार्न चाहेको व्यक्ति नमरी अर्को व्यक्ति मरेमा १० देखि १५ वर्ष वा हत्याको प्रकृति हेरेर जन्मकैदसम्मको सजायहुने व्यवस्था छ।

कसैले लापरवाहीपूर्ण काम गरी कसैको ज्यान मारे तीनदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको जरिवाना हुनेछ । हेलचेक्र्याइँ गरी कसैको ज्यान मार्नेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयासम्मँ जरिवाना, कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिनेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था नयाँ मुलुकी ऐनमा गरिएको छ।

बहुविवाह गरे पाँच वर्ष जेल
विवाहित पुरुषले अर्को विवाह गरे वा विवाहित पुरुष हो भनेर जान्दाजान्दै कुनै महिलाले त्यस्तो पुरुषसँग विवाह गरे एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । अंशबन्डा गरी भिन्न भएको अवस्थामा भने अर्को विवाह गर्न सक्ने व्यवस्था गरिएको छ।

गर्भपतन गरे ६ वर्षसम्म जेल
जानीजानी गर्भपतन गर्ने वा गर्भवती महिलालाई करकाप गरेर गर्भपतन गराउने व्यक्तिलाई ६ वर्षसम्मको जेल सजाय तोकिएको छ । १२ हप्तासम्मको गर्भपतन गर्ने वा गर्न लगाउनेलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना, १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना, २५ हप्ताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । गर्भवती महिलालाई कुनै रिसइबीले गर्भपतन हुने गरी काम गर्न लगाए त्यस्तो व्यक्तिलाई एक वर्षदेखि ६ वर्षसम्मको जेल सजाय तोकिएको छ। आजको नयाँ पत्रिकामा खबर छ।

बाँचुन्जेल जेल बस्नुपर्ने अपराध
– क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको
– अपहरण गरी वा वायुयान अपहरण गरी वा विस्फोट गरी ज्यान मारेको
– अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारेको
– सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको
– कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने गरी जाति हत्या गरेको वा गर्ने उद्देश्यले कसुर गरेको
– जबर्जस्ती करणी गरी ज्यान मारेको

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);