काठमाडौंवासीको प्यास मेट्ने मेलम्ची त्यो दिन आफै तिर्खाई रह्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौंवासीको प्यास मेट्ने मेलम्ची त्यो दिन आफै तिर्खाई रह्यो

बटुकराज गिरी,

काठमाडौं । मेलम्चीको किनारामा सानो घर भएको म । घर ठूलो नभए पनि दुई तले साना कोठा राखेर बनाईएको थियो । सानो परिवार सुखी घरवार भने झैँ हाम्रो परिवार त्यसैमा रमाएका थियाैं ।

तर जब १ गतेको बाढी पछि म मेरो घर भएको मेलम्ची बजार पुगेँ । त्यहाँको दृष्य देखेर कुनै शब्द मुखबाट फुत्कन सकेन । मेरो सानो घर आधा हराएको थियो । घर र बजार सबैलाई एकटकले नियालेर हेरेँ ।

चिउँडोमा हात लगाएर लामो स्वास फेर्नुको विकल्प थिएन । यता उता हेरेँ म जस्ता लामो स्वास फेर्ने धेरै देखेँ ।

काठमाडाैं उपत्यकालाई काकाकुल हुनबाट जोगाउने मेलम्ची १ गतेको बाढीपछि आफै तिर्खाई रहेको थियो । किन कि उ संग पानीभन्दा बगर र गेगर धेर थियो । लाग्थ्यो यस्तो पीडा पछि पनि मेलम्चीले प्रतिबद्धता व्यक्त गरिरहेको थियो, यस्तो आपत्पछि पनि म काठमाडाैंवासीको तिर्खा मेटाउन पछि हट्ने छैन ।

मनसुन सुरु हुँदा नहुँदै असार १ गते सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीपहिरोले तटीय क्षेत्रका बजार, बस्ती खेतका फाँट र थुप्रै व्यवसायी फर्म क्षण भरमै खण्डहर भए । मेलम्ची बजार छिन भरमै बगरमा परिणत भयो । ठूलो वर्षात विना नै आएको बाढी पहिरोले सुन्दर नगरी मेलम्ची र हेलम्बु क्षणभर मै खण्डहर बनाइदिएको हप्ता दिन पुग्न लागि सक्यो ।

मेलम्ची, हेलम्बु र पाँचपोखरीमा जुन किसिमको विनास भयो आजसम्म यो सामाजिक सञ्जालमा एक शब्द राख्ने हिम्मत गर्न सकेको छैन । एउटा भनाई छ नि पीडा अत्याधिक भयो भने आँसु झर्दैन । हो म यसै भेगका नागरिक भएका कारण पनि यो उक्ति म मा लागु भएको हुनुपर्छ । सायद आँसु आँखाको डिलमा नआउँदै मनको बाटो कुद्दा कुद्दै सुकीसकेको थियो ।

असार १ गते जसरी बाढीपहिरोले मेलम्चीवासीमाथि आक्रमण गर्यो त्यस पछि देश तथा विदेशमा रहेकाहरुले राहत लैजाने कार्य सुरु गरे । मानिसहरुले राहत सामाग्रीलाई राजनीतिक एजेन्डा नै बनाए । केही दिन अगाडी एमाले निकट अनेरास्ववियुको टोलीले आफ्नो पार्टीको ब्यानर राखेर राहत वितरण गरेको भन्दै झगडा समेत हुनपुगेको थियो । काठमाडौं लगायत मुलुकका विभिन्न स्थानबाट आजसम्म पनि राहत लैजाने क्रमजारी नै छ । राहत लैजाने क्रममा मेलम्चीमा मानवीय संकटमा कतिपय व्यक्ति तथा संघसंस्थाले खेलाँची गरेको दृश्य पनि देखिन्थे । एक गाडी सामान लाने क्रममा ५ देखि ७ वटा भन्दाबढी नीजि सवारी साधन प्रयोग गरेर पीडितको पीडा भन्दा पनि उजाड मेलम्चीमा रमाउन र मोबाइलमा सेल्फि खिच्न व्यस्त देखिन्थे । तर पीडितहरु भने बाढीले क्षतविक्षत बनाएका आफ्ना करोडौंको बासस्थानको भग्नावशेष हेर्न बाध्य थिए ।

बाढी पीडितहरुकालागि सहयोग गर्ने नाममा के राजनीतिक दल के संघसंस्था अधिकांसलाई सामाजिक सञ्जालमा आफ्नो प्रचारप्रसारमा नै बढी केन्द्रीत भएको देखिन्छ । काठमाडौं देखि सुरु भएको उनीहरुको सेल्फी यात्रा पुनः काठमाडौं नआउन्जेल त्यो क्रम रोकिँदैन थियो । राहत लिएर जाने क्रममा १ गाडीमा खाद्यान्न सामाग्री देखिन्थ्यो भने ५ देखि ७ वटासम्म नीजि सवारी साधनको लस्कर देखिन्थ्यो । मानौं उनीहरु कुनै जात्रा वा मेला भर्न आएका छन् ।

म मेलम्ची कै स्थानीयवासी भएका कारण पनि बाढीपहिरो गएपछि ५ दिन निरन्तर हेलम्बु र मेलम्चीमा छु । अझै भनौं राजनीतिक दलका कार्यकर्ताको जुन किसिमको पार्टी राजनीति देखिन्थे त्यसले समग्र मेलम्चीवासीलाई गिज्याइ रहेको हुन्थ्यो । मेरो नेताले जति त कसैले नि गरेको छैन तिमीहरुको नेताभन्दा त हाम्रो नेता बढी पावरफुल र बाढी पीडितहरुको उद्धारमा खटिएको भन्ने अहमता ती अन्धभक्त कार्यकर्तामा झल्किन्थ्यो ।

त्यतिमात्रै होइन नेताहरुको चाकडी गरेर नेताकै गाडीमा र राहत वितरण गर्ने निउमा हेलिकप्टरमा चढेर सामाजिक सञ्जालमा राख्न पाए उनीहरुलाई लाग्थ्यो म जत्तिको पहुँचवाला सायद कमै छन् ।

आफ्नो सस्तो लोकप्रियता बढाउनका लागि स्वाघोषित सामाजिक अभियान्ता र यूट्युबे पत्रकारहरुको पनि विगविगिले पीडितहरु माथि थप पीडा वोध भएको मलाई भानहुन्थ्यो । आफू लोकप्रिय बन्न बडेमानका क्यामेरा पीडित माथि राखेर आँसुसंग खेलेको देखेर लाग्थ्यो वास्तवमा समाजमा वास्ताविक समाजसेवी र राजनीतिज्ञ कमै रैछन् ।

मेरो केही दिनको मेलम्ची बसाइमा देखेका र भोगेका दृश्यहरु मैले टुलुटुलु हेर्ने शिवाय म संग अन्य विकल्प केही थिएन । तर म यत्ति चै भन्न सक्छु कि स्वाभिमानी मेलम्चीवासीमाथि स्व स्फूर्त रुपमा सहयोग गर्नका लागि सदैव खुल्ला छ तर यो महामारी त्यसमाथि पनि प्राकृतिक प्रकोपले समेत पीडा दिएको कर्मठ मेलम्चीवासीको घाउमा नुन छर्ने काम गर्न कसैलाई छुट छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);