एजेन्सी । कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित निकालेको छ ।
आज बिहान सम्पन्न भएको खेलमा कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गर्दै पेरुले पहिलो जित निकालेको हो ।
पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । भने कोलम्बियाका मिगुएल बोर्जाले एक गोल फर्काएका थिए ।
खेलको १७ औं मिनेटमा पेनाले गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ५३ औं मिनेटमा बोर्जाले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई १–१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ६४ औं मिनेटमा कोलम्बियाका एरी मिनाले आत्मघाती गोल गरेपछि पेरु २–१ ले विजयी भयो । जितसँगै समूह ’बी’ को पेरुले २ खेलमा ३ अंक जोड्दै समूहको तेस्रो स्थानमा रहेको छ ।
कोलम्बियाले ३ खेलमा ४ अंक जोडेको छ । त्यैगरी समूहको अर्को खेलमा भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।