काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भुउपयोग नीतिलाई कडाइका साथ लागु गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने बताएकी छन् ।
शुक्रबार कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त रुपमा आयोजना गरेको समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण विषयक अन्तरक्रियामा बोल्दै कृषि मन्त्री साहले कृषक र कृषिकै हितको निम्ति भुउपयोग नीति ल्याइएको भन्दै यसलाई कडाइका साथ कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताएकी हुन् ।
मन्त्री साहले कृषिको सबै थोकमा छिट्टै आत्मनिर्भर हुनुपर्नेमा पनि जोड दिईन् । भुउपयोग नीति लागु गर्दा खेतीयोग्य भूमि शहरीकरण हुन रोकिने उनले बताईन् । मन्त्री साहले किसानलाई सुचीकृत गरी राज्यको तर्फबाट दिइनुपर्ने सेवा सुविधा दिन मन्त्रालय चिन्तित रहेको पनि जिकिर गरिन् ।
मन्त्री साहले बेरोजगार युवाहरुलाई विदेश जानबाट रोक्नका लागि कृषिमा क्रान्ति ल्याउनुपर्नेमा जोड दिईन् । कृषि क्रान्तिको लागि कुनै कसर बाँकी राख्नु नहुने उनको भनाई छ ।
मन्त्री साहले माटोको परीक्षण गर्नका लागि ‘सोयल हेल्थ कार्ड’ को व्यवस्था गर्न जरुरी रहेको बताईन् । सोयल हेल्थ कार्डको व्यवस्था गर्न सके कस्तो खालको माटो छ र त्यस अनुसार मलको प्रयोग गर्न सकिने उनको भनाई छ ।
मन्त्री साहले कृषि मन्त्रालयले दिर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा पनि जोड दिईन् ।