नवनियुक्त मन्त्री थापाद्वारा विज्ञापन बोर्डको कार्यालय अनुगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नवनियुक्त मन्त्री थापाद्वारा विज्ञापन बोर्डको कार्यालय अनुगमन

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले विज्ञापन बोर्डको कार्यालय अनुगमन गरेकी छन् । मन्त्री थापाले बुधवार विज्ञापन बोर्डको कार्यालयमा पुगेर अनुगमन गरेकी हुन् ।

सरकारले विज्ञापन बोर्ड भर्खरै गठन गरेकाले बोर्डले कार्य प्रारम्भ पनि भर्खरै शुरु गरेको अवस्थामा नवनियुक्त मन्त्री थापाले बोर्डको काम, कारबाहीको सम्बन्धमा अनुगमन गरेकी छन् ।

मन्त्री थापासँग आगामी दिनमा बोर्ड कसरी अगाडी बढ्ने र के–कसरी काम गर्ने भन्ने सन्दर्भमा छलफल भएको विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुँमागाईले बताए ।

विज्ञापन बोर्डले विज्ञापनमा एकद्वार नीति ल्याउन लागेको भन्दै विज्ञापन एजेन्सीहरुले विरोध गरिरहेको सन्दर्भमा कुरा गर्दै बोर्डका अध्यक्ष लक्ष्मण हुँमागाईले विज्ञापनमा एकद्वार प्रणाली लागु गर्दा विज्ञापन व्यवसायीहरुलाई नै सहज हुने बताए । सरकारी विज्ञापनमा एकद्वार प्रणाली लागु हुनु भनेको सम्पूर्ण काम बोर्डले मात्रै गर्ने भन्ने नरहेको स्पष्ट पारे । प्रदेश सरकारका निकायमा प्रदेश कानुन र स्थानीय निकायमा स्थानीय कानुन लागु हुने गरी ऐन बनेको उनले बताए ।

एकै निकायबाट विज्ञापन जाँदा सहज हुने अवधारणाका लागि एकद्वार प्रणाली बनाइएको उनले बताए । उनले भने – ‘सरकारी विज्ञापनको एकद्वार प्रणाली भनेको, सबै बोर्डले मात्रै गर्ने भन्ने छैन । प्रदेश सरकारका निकायमा प्रदेश कानुन लागु हुन्छ । स्थानीय निकायमा स्थानीय कानुन लागु हुन्छ । र संघीय संरचनाहरु छन्, त्यहाँको हकमा सरकारको एउटा निकायबाट विज्ञापनहरु जाँदा सहज हुन्छ भन्ने अवधारणामा ऐन बनेको छ । र त्यो ऐनको कार्यान्वयनमा जानेसम्मको विषय हो । अब विज्ञापन व्यवसायीहरुले विभिन्न कार्यालयमा गएर जुन विज्ञापन सञ्चालन गर्नुपथ्र्यो, त्यो गर्नु नपरेर सिधै विज्ञापन बोर्ड मार्फत् प्राप्त गर्छन् । त्यसैले गर्दा उहाँहरुलाई त अझ सहज, अझ सजिलो हुन्छ ।’

अध्यक्ष हुँमागाईले विज्ञापन बोर्डले विज्ञापनको समानुपातिक वितरणमा नै विश्वास गर्ने बताए । सञ्चारमाध्यमहरुको विज्ञापनमा आफ्नो पहुँच भएन भन्ने गुनासोको सम्बोधन गर्न ऐनमा व्यवस्था गरीएको उनले उल्लेख गरे । विज्ञापन एजेन्सीहरुले आफ्नो पहुँच घट्ने हो कि भन्ने आशंकाका कारण ऐनको विरोध गरेको भन्दै उनले पहिले बोर्डले कार्य प्रारम्भ गरिसकेपछि प्रतिक्रिया जनाउन पनि अनुरोध गरे ।

विज्ञापन बोर्डले कुन मोडालिटी अनुरुप काम गर्ने भन्ने विषयमा अर्थ मन्त्रालय, सञ्चार तथा सुचना प्रविधि मन्त्रालय र विज्ञापन बोर्ड बीच छलफल भइरहेको अध्यक्ष हुमागाईले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);