काठमाडाैं । जसपा अध्यक्ष महन्थ ठाकुरले एकपक्षीय रूपमा केन्द्रीय कार्यकारिणी समिति विस्तार गरेका छन । कार्यकारिणी समितिमा ठाकुर पक्ष हालसम्म अल्पमतमा रहेपनि यो बिस्तारसँगै बहुमतको अवस्था बनेको छ । जसपाको विधानअनुसार कार्यकारिणी समिति ५३ सदस्यीय हुने व्यवस्था छ ।
हाल जसपाको केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ । त्यसमध्ये २६ जना पूर्वराजपा र २५ जना पूर्वसमाजवादी पार्टीका हुन् । पूर्वराजपाबाट कार्यकारिणी सदस्य बनाइएका रेशमलाल चौधरी जेलमा रहेको र दुई सदस्य मनोनित गर्न बाँकी थियो । ठाकुरले १६ जना सदस्य थपेसँगै केन्द्रीय कार्यकारिणी समिति ६७ सदस्यीय बनेको हो ।
थप सदस्यहरूको सूची निर्वाचन आयोगमा पठाउने तयारीमा ठाकुर पक्ष छ । काठमाडौं बबरमहलस्थित पार्टी कार्यालयमा आइतबार सम्पन्न ठाकुर पक्षको बैठकले कार्यकारिणी समिति विस्तार गरेको हो ।
मनोनित नयाँ सदस्यहरूमा विमल श्रीवास्तव, उमाशंकर अरगरिया, डा. विजयकुमार सिंह, सुरेन्द्र झा, उपेन्द्र महतो, राजीव झा, परमेश्वर साह,सन्तवीर महतो, सुरेश मण्डल, रमेश पटेल, एकवाल मियाँ, विजय उपाध्याय, कृष्णा सिंह, शतरजित यादव, अभिराम शर्मा र मुकेश झा छन ।




