धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने एमालेका ७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।
संसदीय दलका नेता प्रकाशबहादुर शाहद्धारा सोधिएको २४ घण्टे स्पष्टीकरण सोधिनेहरुमा एमाले संसदीय दलको निर्णय तथा ह्वीपको अवज्ञा गर्ने सांसदहरु रतन थापा, नेपालु चौधरी, लिलाधर भट्ट, पठानसिंह बोहरा, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बोसिंह बोहरा रहेका छन् ।
जसले मुख्यमन्त्री भट्टको मतको विपक्षमा मतदान गरेका थिए । विपक्षमा मतदान गर्ने सांसदहरु अध्यक्ष ओली पक्षधर हुन् । दलका नेता शाहले उनीहरु सबैलाई स्पष्टीकरण माग्दै पत्र पठाएका हुन् ।
पत्रमा संसदीय दलको विधान एवं दलको ह्रवीप उल्लंघन गर्नुको कारण सोधेका छन् । निर्धारित समयभित्र जवाफ नआए विधानबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । सुदूरपश्चिम संसदीय दलमा माधव नेपाल पक्षधरको नेतृत्वसहित बहुमत संख्या छ ।
मुख्यमन्त्रीलाई विश्वास मत दिने पक्षमा १७ जना एमाले सांसदहरुले मतदान गरेका थिए । विपक्षमा मतदान गर्ने सात जना सांसदहरुले पार्टीको निर्देशनको पालना गरेको बताएका छन् ।