काठमाडौं । निवर्तमान वन तथा वातावरण मन्त्री प्रेम आलेले आफूमाथि पत्रकार अब्दुल्लाह मियाले लगाएको आरोप झूठो भएको बताएका छन् ।
मंगलबार एक विज्ञप्ति मार्फत निवर्तमान मन्त्री आलेले आफू र आफ्नो सचिवालयसँग अनुचित लाभ लिन नपाएपछि पत्रकार मियाले चरित्रहत्या गर्न खोजेको आरोप लगाए ।
निवर्तमान मन्त्री आलेले पत्रकार मियालाई टेलिफोनमा धम्की दिएको भन्दै पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले आपत्ति जनाएको थियो । आलेका अनुसार आफूले धम्की नदिएको तर पत्रकारबाट आफू पीडित भएको भन्दै दुख व्यक्त गरेका छन् ।
आफूले पत्रकारलाई राज्यको पहरेदारकारुपमा हेर्दे आएको र पत्रकारको हकहित, व्यावसायिकता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बोल्दै आएको तर्क गरेका छन् । उनले आफू मन्त्री हुँदासम्म पत्रकारलाई ईज्जत गरेको भन्दै निकट भविष्यमा समेत पत्रकारमाथि गर्ने व्यवहार यथावत राख्ने विज्ञप्तिमा मार्फत उल्लेख गरेका छन् ।
आलेले राम्रा कामलाई राम्रो र नराम्रा कामलाई उजगार गर्न पत्रकारको धर्म भएको भन्दै सहि, सत्य समाचारलाई मान्यता दिन संचारगृहलाई आह्नन समेत गरेका छन् ।