छिमेकीलाई गाली गरेर राष्ट्रवाद देखाउने अपरिपक्व राजनीतिक (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८०, शुक्रबार

छिमेकीलाई गाली गरेर राष्ट्रवाद देखाउने अपरिपक्व राजनीतिक (भिडियाेसहित)

नेपालको संविधानले नागरिकताबाट कुनै पनि नेपाली नागरिक बञ्चित नहोउन् भनेको छ । विदेशीबाट नेपाली शासित होउन् भन्न त परै जाओस्, हाम्रो संविधानले यसको कल्पनासम्म समेत गर्न सक्दैन । सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेसँगै नेपालमा राष्ट्रियताको कुरा पुनः बल्झिएको छ । संसद्को राज्यव्यवस्था समितिले सबै दलका सांसदको सहमतिबाट टुंग्याएको विधेयकको व्यवस्था नै सरकारले अध्यादेशमा राखेको छ भनेर महान्याधिवक्ताले भनिरहँदा, केही नेताहरु नागरिकताको मामिलामा राष्ट्रवादलाई जोडेर पुनः भाषण गर्न थालिसकेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको नागरिकता सम्बन्धि अध्यादेशले नेपाली समाजलाई विखण्डन गर्ने देखि सत्तासँग जोडिएको सौदाबाजी भनेर टिप्पणी गरिरहेका छन् । तर संविधानविद्हरुले भनिरहेका छन्, अध्यादेशले संविधानको भावनालाई मात्र सम्बोधन गरेको छ । हजारौं नेपालीले नागरिकता पाउन सकिरहेका छैनन्, जो नेपाली नै हुन्, उनीहरुको बारेमा नेताहरुले बोल्नु पर्छ कि पर्दैन ? संविधानले नागरिकताबाट कुनै नेपालीलाई बन्चित नगर्नू भनेपछि किन नागरिकता लिन नेपालीहरु अदालतका ढोका ढकढक्याइ रहेका छन् ?

अहिले जुन नेताहरु नागरिकता विधेयक आएकोमा अपात्ती जनाइरहेका छन्, उनीहरु सत्ता साझेदारीमा हुँदा वा विगतमा सत्तामा हुँदा मौन नै थिए । अहिले पनि नक्कली नागरिकता बोकेका हजारौ गैरनेपालीहरु छन् । अरु देशको नागरिकता लिंदा नेपालको नागरिकता त्याग्नू पर्ने हुन्छ । यस्तो कानुनको बेवास्ता गर्दै दोहोरो नागरिकता बोक्नेको संख्या त लाखौमा रहेको आशंका गर्ने गरिएको छ । विदेशी नागरिकता लिएकै आधारमा गैर आवासीय नेपालीहरु नेपाल आउँदा पर्यटक भिसामा आउछन् ।

जसको नेपालसँग खासै साइनो छैन, उनीहरुको खल्तीमा नेपाली नागरिकता कसरी पुग्यो ? नेताहरुले यसमा कति पटक चासो राखे ? प्रश्न अनुत्तरित छ । आवेशमा आएर या राजनीतक फाइदाका लागि छिमेकीलाई गाली गर्ने तर मुलुकभित्र सिन्को नभाच्ने अपरिपक्व नेतृत्वले मुलुकलाई सहि मार्गनिर्देश गर्न सकिरहेको छैन । कुनै पनि देशसँग हाम्रा समस्या होलान्, त्यसको संरचनागत ढंगले हल गर्नु राज्यको दायित्व हो । विडम्बना के छ भने, नेपाली नेताहरुको राष्ट्रवाद भारतलाई गाली गरेर झल्किन्छ । सत्तामा हुँदा जुन शक्तिकेन्द्रसँग नेताहरु लम्पसार पर्छन्, सत्ता बाहिर आउने बित्तिक्कै छिमेकी प्रति गालीगलौजमा उत्रनु कहाँको राष्ट्रवाद हो ?

चारपटक प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवा, दुईपटक प्रधानमन्त्री बन्नुभएका प्रचण्ड तथा माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरि राष्ट्रिय राजनीतिले फन्को मारिरहेको छ । कालापानीमा सीमा मिचिँदा नबोल्ने नेताहरु तिब्बत र चीनसँग जोडिएको सीमा क्षेत्रबारे बेखबर छन् । अनी छिमेकलाई गाली गर्दे जनताकोबीचमा गोहीका जस्ता आँसु बगाउने नाटक मञ्चन पनि नेताहरुले गरिरहेका छन् । जनता त रमिता हेरेर बसेका छन् । भारतसँग मात्र हैन, तिब्बतसँग जोडिएको सिमा क्षेत्रमा पनि समस्या छ । नेपाली भूमिमा चीनको पनि थिचोमिचो छ ।

सत्तामा हुँदा कुन प्रधानमन्त्रीले सीमा समस्या समाधान गर्न ठोस रुपमा काम ग¥यो । खोज्दै गयो भने कसैको पालामा पनि परिणाम मुखी काम भएको पाइँदैन । उत्तरी क्षेत्रको सिमाना भौगोलिक विकटताले गर्दा प्रत्यक्ष निगरानी गर्न समस्या छ, दक्षिणी सिमा क्षेत्रमा समस्या छिटै देखिन्छ । समस्या कम वा ज्यादा होला तर दुबै तर्फ छ । वास्तवीकता यहि हो । आन्तरिक राजनीतिक कचिंगलमा फसेका नेताहरुको राष्ट्रवाद गाली र लम्पसारवाद विषय नेपाली जनताबाट लुकेको छैन ।

नुन देखि सुनसम्म र सियो देखि सलाईसम्म भारतको आयातमा निर्भर नेपालको व्यापारमा सामान्य रोकावट हुँदा सडक देखि सदनसम्म तात्छ । भारतले नाकाबन्दि लगाउँदा चीनसँग थप नाका खोल्न बाध्य भएको धेरै समय भएको छैन । आर्थिक समृद्धि, दिगो विकास, शान्ती, सुशासन र गरिबीबाट मुक्त राष्ट्र केवल कागजमा मात्र सीमित बनाएका नेताहरु अग्रगमन र प्रतिगमनका कुरा मात्रै गर्छन् । जुन कुरामा जनताले सरोकारै राखेका छैनन् ।

मुल नीतिलाई थाती राखेर बेथीतीको राजनीतिमा उद्धत भएका नेताहरुले कोरोना कहरमा डुबेका जनताको पीडालाई समेत गीज्याइरहेका छन् । देशमा सिटामोलको अभाव छ भनेर वक्तब्य निकाल्ने अबस्था छ । भ्याक्सिन त दानमा आएपछि जनतालाई बाँड्ने हो । यहि हो हाम्रो स्वाभीमान ? सुन्दा तीतो लागे पनि मुलुकको यथार्थ यहि हो । मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी बारे नेताहरुले सडक र सदनमा देखाएको दोहोरो चरित्र सुझबुझ भएका नेपाली जनताबाट लुक्न सकेको छैन ।

सत्तासँग जोडिदा एमसिसीको विपक्षमा सदन तताएका नेताहरु सत्ताबाट बाहिरिदा एमसिसि पक्षधरतामा परिणत भइसकेका छन् । किनकी नेताहरुको राष्ट्र सत्ता स्वार्थसँग जोडिएको छ । सत्तामा हँुदा होस् वा सत्ता बाहिर हुँदा, नेता भनेको नेतृत्वकर्ता हो उसको लगाव सधै जनतासँग हुनुपर्ने हो । भोट माग्ने बेला र सत्ता बाहिर हुँदा रोइकराइ गर्ने, र सत्तामा पुगेपछि जनचासोलाई बेवास्ता गर्ने नेताहरुलाई विवेकशिल जनताले एक न एक दिन पाखा लगाउने नै छन् ।

त्यसैले चीन र भारतको पक्ष वा विपक्षमा वकालत गर्न छोडौं । हामीलाई दुबै छिमेकीसँगको असल सम्बन्ध चाहिएको छ । दुवै देशबीचको विवादलाई कूटनीतिक संवादबाट हल गरेर सुमधुर सम्बन्ध कायम गर्दै आफनो देशको भलाईमा केन्दित भए मात्र समृद्घ नेपाल खुसी र स्वाभिमानी नेपाली बन्न सक्छौं ।

Leave a Reply