काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा प्रभावकारी ढंगले काम गर्न कोरोना १९ व्यवस्थापन केन्द्र सीसीएमसीलाई निर्देशन दिएको छ । यसअघि सरकारले अध्यादेशमार्फत महामारी नियन्त्रणमा काम गर्न सहज कानुन हुनेगरी कानुन ल्याएको हो ।
प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोभिड–१९ संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता गर्ने गरि काम गर्न निर्देशन दिएको छ । उनले कोभिड १९ नियन्त्रण सम्बन्धी र सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेशले सम्पुर्ण प्रक्रियागत जटिलताहरुको समाधान गरेको भन्दै कोभिड–१९ व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ कामअघि बढाउन निर्देशन दिएको बताइएको छ ।
सार्वजनिक खरिद ऐन र नियमावलिमा देखिएका समस्यालाई सहज गराउन अध्यादेश ल्याएको र अध्यादेशले सबै बाटो खोलेकोले कुनै अलमल नगरि काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएको हो । सोमबार सरकारले कोरोना १९ व्यवस्थापन केन्द्रका प्रमुखमा अवकासप्राप्त रथी बालानन्द शर्मालाई नियुक्त गरेको थियो । उनले मंगलबार देखि नै आफ्नो जिम्मेबारी सम्हाल्दै बैठकमा सहभागी भएको थियो ।




