काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । सरकार गठनको केही समय भइसक्दा पनि जनताका चाहना र आकांक्षाहरू पूरा हुने संकेत नदेखिएको उहाँको दाबी छ ।
बुधबार नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारका सामु समाजवादको दिशामा अगाडि बढ्ने कि पुरानै बाटोमा हिँड्ने भन्ने गम्भीर प्रश्न खडा भएको बताउनुभयो । देशलाई विकास र परिवर्तनको बाटोमा लैजान कम्युनिष्टहरूले नै पहलकदमी लिनुपर्ने तर वर्तमान अवस्थाले निराशा मात्रै जन्माएको उहाँको भनाइ छ । नेता नेपालले राजनीतिमा व्याप्त बेथितिहरू अन्त्य गर्न सरकारका प्रयासहरू पर्याप्त नभएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मर्निङ शोज द डे भनिन्छ, तर सरकारको लक्षण राम्रो देखिएको छैन । समाजमा विद्यमान असमानता, भेदभाव र अन्याय अन्त्य गर्ने सवालमा सरकार अहिलेसम्म मौन जस्तै देखिन्छ । जनतामा कुनै उत्साह र सन्तुष्टि पाउन सकिँदैन । हामीले हेरिरहेका छौं, जनताले कस्तो परिवर्तन खोजेका छन् । जतिसुकै ठूला गफ हाँके पनि जनताको मनोभावना बुझ्न नसक्ने सरकार सफल हुन सक्दैन ।’
उहाँले आफ्नो पार्टीले देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन संघर्ष जारी राख्ने र सरकारको गतिविधिलाई नजिकबाट अनुगमन गरेर अगाडि बढ्ने रणनीति रहेको संकेत गर्नुभयो ।





