महामारीको समयमा नागरिक जिम्मेवार बन्नु पर्दैन ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

महामारीको समयमा नागरिक जिम्मेवार बन्नु पर्दैन ? (भिडियाेसहित)

पछिल्लो समय ह्वात्तै बढेको कोरोना संक्रमणको वर्तमान अवस्था सबै सामु छर्लङ्ग छ । हाम्रै वरिपरी देखिएको संक्रमणको प्रभाव र यसको चपेटामा पर्नेले पाइरहेको सास्तीको बारेमा केही कुरा लुकेको छैन । तर पनि यो अवस्थामा आम जनमानसले गम्भीर लापरबाही गरिरहेको देखिन्छ । यो लापरबाहीको फलस्वरुप कोरोना संक्रमण थप फैलिइरहेको छ । कोरोना महामारीको यो जटिल अवस्थामा सरकारले संक्रमणको फैलावट नियन्त्रण गर्न लकडाउन जारी गरेको अवस्था छ ।

आर्थिक, सामाजिक सबै गतिविधि यसको कारण प्रभावित बनेको छ । तर पनि सरकारले जुन उद्देश्यले लकडाउन गरेको हो, त्यो पूरा हुन सकेको छैन । यसको मुख्य कारण लकडाउनको उल्लंघन गरेर निस्फीक्री बाहिर हिँडडुल गर्ने आम प्रवृत्ति नै हो । यसरी महामारीलाई बेवास्ता गर्दा सरकारको आदेशको अवज्ञा मात्रै होइन कोरोना भाइरसलाई घरभित्र निम्तो दिएको जस्तो भएको छ । पछिल्ला दिनमा देखिएको संक्रमणको दरले यही तथ्य बोलिरहेको छ । तर पनि अझै प्रहरीको आँखा छलेर टोल छिमेकमा दैनिक जसो गफ गर्न बाहिर निस्किने, साथीभाई जम्मा हुने, भीड गर्ने जस्ता गतिविधिले महामारी नियन्त्रण गर्न कठिन भैरहेको छ ।

यस्तै पसलहरू खोल्ने समय सरकारले तोकेको छ, तर दिनभर घरमा बसेको बहानामा सोही मौका पारेर घुमफिर गर्न निस्कने र बजारमा अत्यधिक भीड गर्ने प्रवृत्ति समेत देखिएको छ । कोरोनाका लक्षण नदेखिएका मानिस संक्रमित पाइने गरेका कारण त्यस्ता भीडमा आएका मानिसहरूमा संक्रमण वढ्न सक्ने र उनीहरुले अरूलाई सार्न सक्ने सम्भावना धेरै हुन्छ । नियमित कामहरु ठप्प पारेर संक्रमणको चेनलाई तोड्न गरिएको सरकारी प्रयासलाई आम नागरिकले बेवास्ता गर्दा हुम्ला र जुम्ला जस्ता विकट क्षेत्रमा समेत कोरोना फैलिसकेको छ ।

अझ यो भन्दा डरलाग्दो विषय, देशमा कोरोना भाइरसको तेस्रो भेरियन्ट समेत देखिएको स्वास्थ्य मन्त्रालयले जनाइसकेको छ । तेस्रो भेरियन्टसँग यतिबेला विश्व नै सतर्क भएका बेला नेपालले बेवास्ता गर्न मिल्छ, प्रश्न गम्भीर छ । अहिलेको कठिन अवस्थामा सरकारले अक्सिजनको जोहो गरिरहेको छ । भ्याक्सिन ल्याउन पहल गरिरहेको छ । आइसोलेसन सेन्टर थप्दैछ । कोरोना संक्रमितका लागि प्रयोग गरिने औषधि जुटाउँदैछ, अक्सिजन प्लान्ट थपिँदै छन्, भेन्टिलेटर थप गर्ने काम भइरहेको छ । स्वास्थ्यकमीृहरु आफ्नो ज्यान दाउँमा लगाएर उपचारमा खटिएकै छन् ।

वास्तवमा यतिबेला स्वीकार्ने पर्ने तथ्य के हो भने, हामी बसेको घर, टोल र समाज कोरोना संक्रमणको उच्च जोखिममा छ । हामीले केहि समय सामान्य स्वास्थ्य मापदण्डको इमान्दारीतापूर्वक पालना गर्न मात्र सके स्थितिमा सुधार हुन सक्छ भन्ने कुरा सबैलाई थाहा छ । तर व्यवहार त्यस्तो देखिएको छैन । समाजिक सञ्जालमा नियमित रुपमा श्रद्धाञ्जली लेखिएका सामाग्रीहरु हामी देखिरहेका छौ । हट्टाकट्टा मानिसको पनि ज्यान गएको गम्भीर विषयमा अहिले आम चासो बढेको छ । तर हामी लकडाउनमा लापरवाही गरिरहेकै छौ ।

सडकमा सवारी साधन चलाउन नपाउँदैमा, हिँडडुल गर्न नपाउदैमा कोरोना संकट कम हुने होइन । जबसम्म हामी आफ्नो बानी परिवर्तन गर्दैनौ, तबसम्म स्थिति सुध्रने कुनै सम्भावना छैन । जानकारहरुले यो त सुरुवातको चरणको क्षती हो, सचेत नभए अवस्था भयावह हुन सक्छ भनेर चेतावनी नै दिइरहेका छन् । तर यो चेतावनी बेवास्ता आमजनमानसबाट भैरहेको छ । त्यसैले कोरोना संक्रमण नियन्त्रण हुन नसक्नुमा केवल सरकारको दोष छैन ।

तपाईं हामी पनि कोरोना संक्रमण बढाउने कारक तत्व बनिरहेका छौं । दुईचार दिन साथीसँग भेट नगरे के हुन्छ ? केहि दिन घरमा बस्दा के हुन्छ ? हिड्नै परे सुरक्षित भएर हिड्दा के हुन्छ ? हामी जिम्मेवार किन नबन्ने ? सरकारको सानो सानो गल्तीलाई सामाजिक संजालमा देखाउने प्रतिस्पर्धा गर्ने हामीहरु आफू कहिले सुध्रिने ?

अहिले अस्पतालमा बेड नभएको, अक्सिजन अभाव भएको समाचारहरु बाहिर आइरहेका बेला बेवास्ता गर्दा भोलि आफैंले अस्पतालको बेड खोज्न खटिनुपरेको खण्डमा के हुन्छ भन्ने तथ्यलाई बेवास्ता गर्न मिल्दैन । संकटका समयमा विवेकको प्रयोग नै सबैभन्दा उत्तम उपाय हो । अहिले हामीले देखाउने सचेत व्यवहारले कति मानिसको ज्यान जोगाउन सक्छ, कति जनालाई संक्रमण जोगाउन सक्छ भनेर सोचेमा मात्र पनि गैरजिम्मेवार व्यवहार त्याग्न सहज हुने थियो । यसमा बेलैमा सचेत हुन आवश्य छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);