कोराेना महामारीमा सरकारी निषेधाज्ञा कि सिन्डीकेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोराेना महामारीमा सरकारी निषेधाज्ञा कि सिन्डीकेट

काठमाडौं। कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सरकारले स्थानीय प्रशासनमार्फत् विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ । त्यो निषेधाज्ञा संक्रमणको संख्या अनुसार पूर्ण र अांशिक गरी दुई भागमा विभाजन गरिएको छ ।

काठमाडौं उपत्यकामा मात्रै देशभरीको कुल संक्रमित संख्याको ५० प्रतिशत फेला पर्न थालेको छ । अहिलेको अवस्था हेर्दा यो ग्राफ अझै उकालो चढ्ने संकेत देखिएको छ । अहिले देशभरी आठ हजार संंक्रमित फेला पर्दा चार हजारभन्दा बढी काठमाडौं उपत्यकामा देखिएका छन् ।

स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेपनि उपत्यकामा संक्रमणको ग्राफ घटेको छैन । संक्रमित संख्याले हरेक दिन उच्च रहेको रेकर्ड बनाउँदै छ । यसको एउटै कारण हो सरकारको कच्चा घोषणा । अहिले पनि हरेक बिहान खाद्यान्न पसल तथा तरकारी बजारमा सामाजिक दूरीको धज्जी उडाई भिड बढेको बढ्यै छ ।

कोभिड­१९ को संक्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानु पर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १०ः३० सम्म र बेलुका ३ बजेदेखि ५ः३० सम्म आवागमन गर्न पाउने जारी निषेधाज्ञामा उल्लेख छ । त्यसबाहेकका अन्य सवारी सञ्चालन गर्न पाइने छैन भनेर किटानी समेत गरिएको छ।

सवारी साधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यक वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ ।

माथिको निषेधाज्ञाको व्यहोराबाट थाहा हुन्छ यो निषेधाज्ञा होइन सिन्डीकेट हो । अहिले पनि सडकमा मोटरसाईकल धेरै गुडिरहेका भेटिन्छन् । डिपार्टमेन्टल स्टोर बिहान दश देखि साँझ ५ बजे साँझ सम्म सञ्चालन भईरहेका छन् ।

तरकारी खाद्यान्न बोकेका गाडी सडकमा गुडिरहेका छन् । तरकारी बजारमा मानिसहरुको भिड उत्तिकै देखिन्छ । निषेधाज्ञाका बावजुत पनि उपत्यकाका केही स्थानहरुमा जाम पनि भई नै रहेका छन् । अनि यो तारिकाबाट संक्रमणको चेनब्रेक गरी ग्राफ कसरी झर्ला भन्ने आम प्रश्न उठीरहेको छ ।

सरकारले एक साताका लागि सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा बाहेकका गाडीहरु बन्द गर्दा के बिग्रन्थ्यो? तरकारी बजार खास दिन तोकेर खोल्दा देशको अर्थतन्त्रमा के नै धक्का लाग्थ्यो? कमसेकम एक साताका लागि अत्यावश्यक बाहेकका सबै कुरा बन्द गर्ने हो भने संक्रमण ग्राफ ओरालो लाग्ने निश्चित छ ।

तिब्र रुपमा फैलिएको संक्रमण नियन्त्रणका लागि चेनबे्रक अत्यावश्यक छ जुन अहिलेको सिन्डीकेटको झल्को दिने निषेधाज्ञामा झन्डै असम्भव देखिएको छ । तर अहिलेको तरिकालाई अपनाउने हो भने यसको ग्राफले शिखर चढ्ने खतरा उत्तिकै छ। त्यसैले संक्रमण नियन्त्रणमा सरकार केही न केही कठोर बन्ने पर्ने देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);