Our Network

माघ ५ २०७८, बुधवार

काठमाडौं, अप्सरा गौतम, ३१ असोज । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्न थालेको छ । तिहारमा चाहिने सामान किनमेल गर्ने ग्राहकको बजारमा भीँडभाड बढेको हो । विशेष गरी तिहारमा दाजु भाईलाई सगुनका रुपमा दिईने मसलाको बिक्री बढदो छ । तर अघिल्लो बर्षभन्दा यस वर्ष मसलाको मूल्य अत्याधिक बढेको सर्वसाधारणले बताएका छन् ।

तिहार नजिकिएसँगै असन, भोटाहिटी, न्युरोड, इन्द्रचोक लगायतका अन्य मुख्य बजारमा तिहारका लागि चाहिने सामान किनमेल गर्ने ग्राहकको चहलपहल बढ्न थालेको हो । तिहारमा फलफूल, भाइमसला लगायतको खपत उच्च दरमा हुने गर्छ । यमपञ्चकका पाँच महत्वपूर्ण दिन मध्ये सबैभन्दा महत्वपूर्ण भाइटीकाका दिन भाईमसला चेलीहरुले माइतीलाई दिने उत्तम उपहार मानिन्छ ।

भाइटिकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा सकेसम्म बढी मसला दिने प्रचलन छ । त्यसैले बजारमा मसला पसलमा भीडभाड देख्न सकिन्छ । तर यही भीँडभाडको फाइदा उठाउँदै व्यापारीले मसलाको मूल्य अत्याधिक बढाएका सर्वसाधरण बताउँछन् ।

तर व्यापारीहरुले भने बाहिरबाट मूल्य बढेर आएकाले भाइमसलाको मूल्यमा बढाउनुपरेको दाबी गरेका छन् । तिहारमा प्रयोग हुने विशेषगरी काजु, पेस्ता, नरिवल, सुपारी, बदाम, ओखर, खजुर, छोकडालगायत पर्दछन् । तिहारमा सबैभन्दा बढी खपत भए पनि नेपालमा उत्पादन नहुने भएकोले आयातमा निर्भर हुनु पर्ने बाध्यता रहेको छ ।