कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतले जटिल अवस्थाका बिरामीलाई सेवा दिने बताएको छ । अक्सिजन अभाव देखाउँदै अस्पतालले शनिबार एक विज्ञप्तिमार्फत जटिल प्रकारका बिरामी बाहेकका बिरामीलाई उपचार नगर्ने जनाएको हो ।
कोरोना संकट व्यवस्थापन समितिको बैठकले सामान्य संक्रमितलाई स्थानीय तहमै उपचार गर्ने र जटिल प्रकृतिका संक्रमितलाई मात्रै अस्पतालमा रिफर गर्ने सहमतिपछि अस्पताल थप संक्रमितलाई भर्ना लिन सहमत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘स्थानीय स्वास्थ्य संस्थाहरुबाट सम्भव हुनेसम्मको उपचार त्यहींबाट गर्नुहुन र त्यहाँ सम्भव नहुने अवस्थामा मात्र यस अस्पतालमा रिफर गरी पठाउनु हुन सबैमा अनुरोध गर्दछु,’ अस्पताल निर्देशक डा. डम्बर खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
शुक्रबार साँझ अस्पतालले एक विज्ञप्ति जारी गर्दै शनिबारबाट थप बिरामीलाई भर्ना लिन नसक्ने बताएको थियो । उक्त सूचना जारी गरेपछि सर्वसाधारणले अस्पताल प्रशासन र प्रदेश सरकारप्रति सामाजिक सञ्जालमा चर्को आक्रोश पोखेका थिए । अस्पतालले भने नेपालगञ्जबाट अक्सिजन आपूर्ति बन्द भएको भन्दै थप संक्रमितलाई भर्ना लिन नसक्ने जनाएको थियो ।

‘