जसपा ठाकुर पक्षका सांसद भक्तपुरको एक रिसोर्टमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जसपा ठाकुर पक्षका सांसद भक्तपुरको एक रिसोर्टमा

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदहरु बिहीबार भक्तपुरको एक रिसोर्टमा भेला भएका छन् ।

कांग्रेसको नेतृत्वमा माओवादी केन्द्रको गठबन्धलाई साथ नदिने अडान लिँदै आएका जसपाका ठाकुर महतो पक्षका सांसदहरु रिसोर्टमा भेला भएका हुन् ।

गएको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (२) अनुसार बहुमतको सरकार बनाउनका लागि दिएको समय सीमा आज बेलुकी ९ बजे सकिँदैछ ।

सोही समयसीमा भित्र कांग्रेस नेतृत्वको सरकार निर्माणमा सहभागी हुन नदिन ठाकुर र महतोले आफू पक्ष १६ सांसदहरुलाई रिसोर्टमा लगिएको बुझिएको छ ।

यो पनि पढ्नुहोस

देउवालाई महन्थको पुरानै जवाफ– जसपाको भर नपर्नू


रिसोर्टमा पुगेका सांसदहरुले भने आफूहरु छलफलका लागि पुगेको बताएका छन् ।

जसपाका ठाकुर महतो पक्षको समर्थनविना देउवाले बहुमतको सरकार निर्माण गर्न नसकिने देखिएको छ । यद्यपी नेकपा एमालेका नेपाल पक्षका सांसदहरुले राजीनामा दिएमा भने देउवाले बहुमत पाउन सक्नेछन् ।

नयाँ सरकार निर्माणका लागि एक सय ३६ आवश्यक पर्दछ । हाल प्रतिनिधिसभामा जम्मा दुई सय ७१ सांसद छन् जसमध्ये कांग्रेससँग ६१, माओवादी केन्द्रसँग ४८ र जसपासँग ३२ सांसद छन् । जसपाका ३२ सांसदमध्ये ठाकुर महतो पक्षका सांसद तटस्थ बस्ने बताएका छन् ।

नेकपा एमालेसँग भने एक सय २१ सांसद छन् । यदि जसपाका ठाकुर पक्षका सांसदहरुको साथ नपाउने हो भने र एमालेका नेपाल पक्षका सांसदहरुले राजीनामा नदिने हो भने संसदको ठूलो दलको संसदीय दलको नेताका हैसियतले केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);