मकवानपुर । मकवानपुरको दुर्गम गाउँ कैलाश गाउँपालिका अहिले कोभिड महामारीसँग जुध्दै छ ।
कोभिड–१९ को महामारी नेपालको गाउँगाउँसम्म फैलिसकेको छ । मकवानपुरको कैलाश गाउँपालिकाको बैकुण्ठ पनि यसबाट अलग हुन सकेको छैन ।
कैलाश गाउँपालिकाको २ नम्बर वडामा पर्ने बैकुण्ठ गाउँमा २१ परीक्षणमा ८ मा कोभिड संक्रमण पुष्टि भएको वडाध्यक्ष राजेज्द्र घिसिङले जानकारी दिए । अहिलेसम्म संक्रमितको अवस्था सामान्य रहेकोले स्वास्थ्यकर्मीको सल्लाह बमोजिम आ–आफ्नै घरमा आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेको उनले जानकारी दिए ।
संक्रमितहरुलाई थप उपचारका लागि कहाँ र कसरी लैजाने भन्ने विषयमा छलफल भईरहेको उनले बताए । गाउँमा अझै धेरै जनामा संक्रमण फैलिएको हुन सक्ने उनको आशङ्का छ ।
तत्काल किटको अभाव भएकाले परीक्षण गर्न नसकिएको र किटको लागि जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरिरहेको उनले बताए । गाउँमा संक्रमण पुष्टि भएपछि आवतजावतमा कडाइ गरिएको घिसिङले जानकारी दिए ।
यस अघि गाउँका १३ जना कृषि भ्रमणको लागि सल्यान गएको र उनीहरुले नै गाउँमा संक्रमण भित्रिएको हुनसक्ने घिसिङको अनुमान छ । भ्रमणमा जानेहरुमध्ये एक जनामा मात्रै संक्रमण पुष्टि भए पनि अन्यको परिवारमा संक्रमण फैलिएको उनले बताए ।
देशका ठूला शहर र अस्पतालमा समेत अत्यावश्यक अक्सिजन, औषधि, बेड, स्वास्थ्यकर्मी लगायत चरम अभाव झेलिरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको आधारभूत सुविधा समेत नभएको गाउँमा संक्रमण फैलिनु चिन्ताको विषय भएको अध्यक्ष घिसिङले बताए ।
कैलाश गाउँपालिकामा हालसम्म ४६ मा संक्रमण पुष्टि भएको जानकारी दिए ।