हेटौंडा, १८ फागुन । पहिले गाँजाखेतीमा कहलिएका गाउँमा होमस्टे बन्दै छन् । सडक पहुँच भएपछि खेती मासिँदै २० वटा होमस्टे बन्न लागेका हुन् ।दुर्गम क्षेत्रका बासिन्दाहरू आफ्नो गाउँमा पर्यटकलाई आकर्षित गर्न कस्सिएका छन् । गाउँपालिका र वडाले पर्यटकीय क्षेत्रको पूर्वाधारहरू विकास गर्न सहयोग गरेकाले गाउँलेहरूमा उत्साह बढेको हो ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको कैलाश गाउँपालिका–२ स्थित बैकुण्ठलाई नयाँ पर्यटकीय गन्तव्य बनाइन लागिएको हो । बुधबार र बिहीबार परेको हिउँले उक्त क्षेत्र सेताम्मे भएको थियो । बैकुण्ठलाई आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले पर्यटकीय क्षेत्रको पूर्वाधारहरूको काम भइरहेको वडा अध्यक्षराजेन्द्र घिसिङले बताए ।
‘पर्यटकहरू गाउँमा ल्याउन सकेमा राम्रै आम्दानी हुने कुरा स्थानीयवासीलाई अहिले हेक्का छ,’ उनले भने । त्रिभुवन राजपथको थाहा नगरपालिकाको शिखरकोटबाट साविकको डाँडाखर्क गाविसको बैकुण्ठसम्म सडक निर्माण भएको छ । मोटरबाटो पुग्नु पहिले अधिकांश बासिन्दा गाँजाखेती गर्ने गर्थ्ये । त्यति बेला गाउँमा नयाँ मान्छे आउँदा उनीहरू झस्कँन्थ्ये । आइहाले भने पनि गाँजाको तस्बिर नखिच्नुहोला भन्थे । अहिले उक्त गाउँका बासिन्दाको चिन्तन र सोच नै बदलिएको छ ।
‘मोटरबाटो आएपछि गाँजाखेती मासियो,’ वडाध्यक्ष घिसिङले भने, गाउँलेहरू अहिले तरकारी खेतीसँगै पर्यटकहरू गाउँमा ल्याउन होमस्टे निर्माण गर्न लागेका छन् ।’ गाउँपालिकाले उक्त क्षेत्रमा पर्यटन विकासका लागि छुट्ट्याएको बजेटबाट विभिन्न संरचना निर्माण तथा प्रचारप्रसार थालिएको छ । बैकुण्ठमा होटल र लजको अभाव छ । पर्यटकलाई खाना र बस्ने सुविधाका लागि बैकुण्ठ टोल विकास संस्था, वडा कार्यालय र स्थानीय युवाहरूले सामूहिक लगानीमाहोमस्टे निर्माण गर्न थालेका छन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




