होमस्टे चलाउन सहरबाट गाउँ फर्किए युवा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०७९, शनिबार

होमस्टे चलाउन सहरबाट गाउँ फर्किए युवा

लमजुङ। केही समय अगाडि सुनसान रहेका गाउँमा पर्यटक आगमन बढेपछि सिउरुङका गाउँले पुनः गाउँ फर्कन थालेका छन् । गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ति सहरबाट गाउँ फर्कनेको संख्या बढ्दै गएको छ । पर्यटकको चाप बढेकाले गाउँमै व्यवसाय गर्ने उद्देश्यले बेसीसहर छाडेर गाउँ फर्किएको सिउरुङकी श्रीमाया गुरुङले बताइन् । होमस्टे (घरबास) सञ्चालन गर्न गाउँ आएको उनको भनाइ छ । ‘सहरमा भन्दा गाउँमै बसेर मनग्य आम्दानी गर्ने लक्ष्य छ,’ उनले भनिन्, ‘सहरमा आम्दानी भन्दा खर्च बढी हुन्छ, बचत गर्नै मुस्किल, तर गाउँमा आम्दानीसँगै अन्य घरायसी काम पनि गर्न पाइन्छ, त्यसैले हामी गाउँमै फर्किएका हौं ।’ गाउँमा पर्यटकीय चहलपहल बढेपछि स्थानीयवासी निकै उत्साहित भएका छन्। पर्यटकलाई राम्रो सेवा र सुविधा दिनयहाँका १७ घरमा व्यवस्थित घरबास पूर्वाधार निर्माण भइसकेको छ । घरबास सञ्चालनका लागि गाउँ फर्किएकाहरू अहिले दैनिक गाउँमा आएका पाहुनाको स्वागत सत्कारमा व्यस्त हुन्छन् । तीमध्ये कतिपयले घरबासको मापदण्डबमोजिमका संरचना निर्माण गर्न थालेका छन् ।सिउरुङमा सिजनको बेलामा दैनिक ३० जना हाराहारी पर्यटक आउन थालेको सिउरुङ पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङले बताए । गाउँमा एकसाथ ८० जनासम्म पाहुनालाई राख्न सकिने उनको भनाइ छ । उनले भने, ‘जिल्लाका भन्दा बाहिरका विद्यालय तथा क्याम्पसका विद्यार्थी ठूलो समूहमा आउने गरेका छन्।’दैनिक पर्यटकको चहलपहलले गाउँमै रमाइलो हुनेगरेको सिउरुङ फर्केका नन्दबहादुर गुरुङ बताउँछन् । ‘गाउँको हावापानी राम्रो छ, सामान्य मेहनत गरेर पनि मनग्य आम्दानी हुन्छ,’ उनले भने, ’दैनिक पर्यटकको आगमनले गाउँ नै सहर जस्तो भएको छ।

पर्यटन व्यवसायकै निम्ति छोराछोरीलाई छात्रवासमा राखेर गाउँ फर्किएको सिउरुङकी चन्द्रकाशी गुरुङ बताउँछीन् । ‘बेसीसहर बस्दा खर्चमात्रै हुन्थ्यो, आम्दानी गर्न सकिन्न,’ उनले भने, ‘अहिले गाउँमा आएर घरबास सञ्चालन गरेपछि छोराछोरीलाई पढाउने खर्च जोहो भएको छ ।’ सिउरुङलाई २०६२ सालबाट पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन्। समुद्री सतहदेखि १८५४ मिटर उचाइमा अवस्थित सिउरुङमा एक सय २० घर छन्। प्राकृतिक सुन्दरता, न्यानो आतिथ्य, गुरुङ संस्कृतिमा प्रख्यात सिउरुङ गाउँ जैविक विविधताले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । गाउँमा पुग्ने पाहुनालाई सामूहिक पाहुना घरमा राखेर सत्कार गर्नु, सोरठी, घाँटू, कृष्णचरित्र, लोकदोहोरी, रोधीलगायत परम्परागत नृत्य प्रस्तुत गर्नु सिउरुङवासीको चलन हो । स्थानीयवासीले गाउँमै उत्पादन गरेका मकै, धान, कोदो, भटमासलगायत हरियो सागसब्जी, गेडागुडी, गाउँमै पालिएका भेडा, खसी तथा कुखुराको मासु खुवाउने गर्छन् । स्थानीयवासीको स्वागत सत्कार र सम्मानले पर्यटकलाई लोभ्याउने गरेको छ ।गुरुङ जातिको पुरानो संस्कृति तथा संस्कार जोगाइराख्न पनि यस्ता कार्यक्रम उपायोगी भएको छ । वृद्धवृद्धाले धान्दै आएका यस्ता कार्यक्रम पछिल्लो समय युवायुवतीले पनि सिको गर्दै आएका छन् । सिउरुङबाट मनास्लु, माछापुच्छ्रे, बौद्ध, लमजुङ, अन्नपूर्णलगायत हिमाल आँखैअगाडि देखिन्छन् । यहाँबाट सूर्योदयको दृश्य पनि हेर्न सकिन्छ । सदरमुकाम बेसीसहरदेखि सिउरुङ गाउँसम्म मोटर पुगेको छ । हिँडेर आउन नसक्नेका लागि मोटरबाटो निर्माणपछि सजिलो भएको छ । बेसीसहरदेखि करिब दुई घन्टा गाडीयात्रा पछि सिउरुङ पुग्न सकिन्छ । सिउरुङबाट थुर्जु-दुधपोखरी हुँदै कास्कीको पर्यटकीय गाउँ सिक्लेस-ताङतिङ जाने बाटोसमेत छ।

सिउरुङ गाउँबाट कालाघिरिङ हुँदै अन्नपूर्णा पदयात्रा मार्गको च्याम्चे र नामुन भञ्ज्याङ हुँदै मनाङ पुग्ने दुईवटा बाटो छ। ती पदमार्ग मार्ग सञ्चालन हुनसके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ । २०६५ सालबाट सिउरुङमा होमस्टे सुरु गरिएको हो । गाउँकै सामुन्ने ऐना जस्तैगरी देखिने मनास्लु हिमशृंखलामा पर्ने हिमालचुली, ङादीचुलीलगायतका हिमालले सिउरुङ गाउँको सुन्दरता थपेको छ । बेंसीसहरबाट पर्यटकका लागि सिउरुङ गाउँ होमस्टेमा पुग्नलाई २४ किलोमिटर जिपमा पार गर्नपर्छ ।

Leave a Reply